जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

काठमाडाैं । जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।
सत्तारुढ दल लिवरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।
जापानको राज्यद्धारा सञ्चालित टेलिभिजनबाट प्रसारण भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुगाले आफू कुनै पनि उम्मेदवारको पक्षमा खुलेर नलाग्ने स्पष्ट पारेका थिए ।
तपाईको समर्थन कुन उम्मेदवारलाई छ भन्ने पत्रकारको प्रश्नमा उत्तर दिँदै प्रधानमन्त्री सुगाले भने,’निर्वाचनमा अहिलेसम्म १७ उम्मेदवार देखिनुभएको छ, उनीहरुमध्ये मैले कुनै उम्मेदवारको पक्षपोषण गरेको छैन ।’
उनले पूर्व विदेश मामिला र पूर्व रक्षामन्त्री तारो कोनोले पार्टी अध्यक्षका लागि उम्मेदवार घोषणा गर्न लागेकै दिन आफू कसैको पक्षमा नउभिने स्पष्ट पारे ।
उनले अघिल्लो साता पार्टी अध्यक्षका लागि आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । सरकारमा रहेर कोरोना भाइरसको महामारी विरुद्ध प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी समेत त्याग्ने गरी पार्टीको नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।
उनले पार्टी नेतृत्वका लागि उम्मेदवारी नदिने भएपछि नयाँ आउने पार्टी अध्यक्षलाई नै प्रधानमन्त्री पदको जिम्मेवारी दिने भउका छन् । जापानमा प्राय सत्तारुढ दलको अध्यक्ष नै प्रधानमन्त्री हुने गरेको जनाइएको छ ।
प्रधानमन्त्री सुगा एकवर्ष अगाडि तत्कालीन प्रधानमन्त्री सिञ्जे आवेले आकस्मिक रुपमा राजीनामा दिएपछि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । जापानमा लामो समय प्रधानमन्त्री हुनुभएका आबेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका सुगा भने एक वर्षमै बिदा हुने भउका छन् । रासस/एएनआई
प्रतिक्रिया