सोमबार, वैशाख १५, २०८२

दाताको सहयोगले मदिराको चुस्की, श्रीमती र शिशुको स्वास्थ्य जटिल बन्दै (भिडियो रिपोर्ट)

नेपालखोज २०७८ भदौ २५ गते १६:३४

काठमाडौं । कंक्रिटको जंगल काठमाडौं सहरमा घरैपिच्छकोे कथा छ । धनी न गरिब सबैको आ–आफ्नै व्यथा छ । यस्तै काठमाडौंको तारकेश्वर नगरपालिका लेलाङमा भाडामा बस्ने पदम खड्का र लक्ष्मी पहाडीको सन्तान लाभ भयो । करिब २ महिनाअघि लक्ष्मीले ७ महिनामै आफ्नै डेरामा छोरी जन्माइन् । ज्यामी काम गर्ने बताउँदै आएका श्रीमान् पदमले कोरोनाका कारण काम पाएनन् । आर्थिक अभावका कारण उनले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल लान सकेनन् । आर्थिक अभावकै कारण बच्चा भएको केही दिनमा आमा र शिशुको स्वास्थ्य अवस्था खस्कँदै गयो । सुत्केरीको यो दयनीय अवस्था देखेर घरबेटी र नजिकका छिमेकीले यस्तै अफ्ठ्यारोमा परेकालाई सहयोग गर्दै आएको संस्था किवानिज क्लब अफ तारकेश्वरका अध्यक्ष सुरेन्द्र भट्टलाई जानकारी गराए ।

किवानिज क्लब अफ तारकेश्वरका अध्यक्ष सुरेन्द्र भट्ट

बच्चा–आमा दुवैको अवस्था दयनीय थियो । अध्यक्ष भट्टले आफ्नो संस्था र आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । र सहयोगमा जुटेपनि । क्लबका सदस्यहरूले लक्ष्मीलाई सुरुमा भेट्दा शरीर कमजोर भएकाले काम्ने र बोल्न नसक्ने अवस्थामा थिइन् । शिशुको पनि तौल कम थियो । कान्ति बाल अस्पतालका चिकित्सकले शिशुको तौल कम भएकाले एनआईसीयूमा राखेर उपचार गर्न सल्लाह दिए । सोहीअनुसार उपचार गरियो ।

किवानिज क्लब अफ तारकेश्वर सहगाेगम जुट्नुअघि शिशुकाे अवस्था

उपचार नपाएर छट्पटिएकी एक महिने सुत्केरी लक्ष्मीले उपचार पाइन् । अबोध शिशु जिउँदो भगवान चिकित्सकको निगारनीमा थिइन् । सबै कुरा राम्रोहुँदै थियो । आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सुधार हुँदै थियो । क्लबको सक्रियतामा सहयोग रकम पनि जुट्दै थियो । तर, पदमले गैरजिम्मेवार बाबुको नमुनापत्रको भूमिका देखाउन थाले । पदमले क्लबलाई दुहुनो गाई देख्न थाले । अस्पतालको बेडमा जिवन मृत्युसँग लडिरहेकी अबोध छोरीको लागि उनले बाबुको भुमिका निर्वाह गर्न चाहेनन् । खाना र औषधि किन्न दिएको पैसाले मदिरा खाएर अस्पतालका चिकित्सकसँग झगडा गर्ने र अस्पतालमा आउने अरू कुरुवासँग झगडा गर्न थाले । यति मात्र होइन पदमले फार्मेसीको बिलमा समेत घोटला गरे । उनले चार सयको बिललाई आफैंले २३ बढाएर २७ सय रुपैयाँ लिए । अबोध शिशुका लागि बाबुको जिम्मेवार र कर्तव्य बिर्सिएका पदमले नैतिकता पनि बिर्सिएपछि क्लबका टिमका सदस्यहरू उनीसँग आजित भए ।

पदमले घोटला गरेकाे बिल

गैरजिम्मेवार बाबुको कारण निर्दोष शिशुले ज्यान गुमाउनु हुन्न भन्ने सोचेर क्लबका टिमले सहयोग गर्न छाडेनन् । केही समस्या पर्छ भनेर छाडेको पैसा पदमले मदिरा र अनावश्यक ठाउँमा खर्च गर्न थाले । कति बेला श्रीमतीलाई राख्न दिएको छु भनेर ढाँट्न थाले । श्रीमतीले पनि पदमको यो कदमलाई बचाउ गर्दै आइन् । लक्ष्मीको स्वास्थ्य निकै सुधारपनि भइसकेका र श्रीमानको बचाउ गरेका कारण क्लबको टिमले उनलाई उनकै डेरा लेलाङमा लग्यो । जे जस्तो व्यवहार गरेपनि क्लबका टिमले मानवताकै कारण जुठा भाडा धुने, कोठा सरसफाई गरिदिने गरेर लक्ष्मीलाई डेरामा बस्ने वातावरण मिलाइदिए । लक्ष्मी पनि अलि तङग्रीएकी थिएन् ।

हेर्नुहोस भिडियो रिपोर्ट:

छोरी कुर्न पदम अस्पतालमै थिए । लक्ष्मी घरमा पुगिन् । यता बच्चाको अवस्था क्रमिक रूपले सुधार हुँदै थियो । १५ दिन एनआईसीयूमा राखेर करिब २०० ग्राम तौल बढेपछि अब केही दिनमा नर्मल वार्डमा राखेर शिशुको उपचार गर्ने चिकित्सकले बताएका थिए । बाउखाने र छोरो हेर्ने यो सहरमा लक्ष्मीका घरबेटीले पनि विशाल मानवता देखाएका थिए । लक्ष्मीको शरीरमा तेल लगाइदिने, लुगा धोइदिने, पोषिलो खानदिने एउटा सुत्केरीलाई गर्नुपर्ने सबै स्याहार गरे । काठमाडौं सहरमा यस्ता घरपेटी ढुङ्गा खोज्दा देवता भेट्नेले पनि पाउन मुस्किल नै पर्छ ।

पदमको बदमासीले क्लबको टिमले पदमलाई पैसा नदिने तर जे जति खर्च लागे पनि बेहोर्ने भनेर इमरजेन्सीका लागि १० हजार रुपैयाँ फार्मेसीमा डिपोजिट गरिदियो । तर पनि पदमको बदमासी रोकिएन । अनेक बहाना पारेर डिपोटिज गरेको पैसा फार्मेसीबाट लिएर नयाँ मोबाइलसमेत किने ।

पदम, लक्ष्मी र शिशुको अवस्थाबारे बुझ्दै नेपालखोजकर्मी केशब भट्टराई

बच्चालाई अस्पतालमै छोडेर एकदिन पदम ट्याक्सी चढेर लेलाङको डेरामा पुगे । ट्याक्सी भाडा घरबेटीलाई तिर्न लगाए । यही कुरामा पदम र घरबेटीको विवाद भयो । घरमा प्रहरी सम्म आए । लक्ष्मीले पनि रक्सी पिएर आएका र सहयोग रकम अनावश्यक ठाउँमा खर्च गरिरहेका श्रीमानको बचाऊ गर्दै घरबेटीसँग बाझ्न थालिन् । लक्ष्मीले समेत घरबेटीसँग यस्तो व्यवहार गरेपछि घरबेटीले घरबाटै निकालिदिए । प्रहरीले मानवता देखाएर डेरामा बस्न दिन अनुरोध गरे । तर, लक्ष्मी र पदमले नैतिकता, जिम्मेवार र कर्तव्य बिर्सिएपछि घरबेटीले मानवता देखाउनु उचित ठानेनन् ।

उनको हर्कतले टिमले पदमलाई पैसा दिन छाडेसकेको थियो । खानको व्यवस्था, औषधिको व्यवस्था टिम आफैंले मिलाइदियो । यस्तो हुँदा पनि पदमले टिमले किनिदिएको औषधि नै फिर्ता गरेर मदिरा खान पैसा जोहो गर्न थाले । यो कुरा पनि टिमले थाहा पाएपछि टिमका सदस्यले गाली गरे । अब टिमका सदस्यसँग पदम रुष्ट बन्न थाले । पदमको केही उपाय चलेन । उनले मदिरा खान पैसा नपाउने अवस्था भएपछि टिमका सदस्यलाई थाहा नै नदिई चिकित्सकसँग झगडा गरेर छोरी डिस्चार्ज गरे । यसबाटै अनुमान गर्न सकिन्छ पदमलाई बच्चाको माया होइन सहयोगी दातासँग पीडाको व्यापार गरेर भट्टीमा चुस्की हान्न र रमाइलो गर्न अबोध छोरी अस्त्र चलाएका थिए ।

महाराजगन्जको डेरामा पदमको परिवारको अवस्था

अहिले पदम महाराजगन्जको सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । उनले अहिले चल्दो ट्रेन्ड मिडिया बोलाएर झुटो कुरा गर्दै किवानिज क्लब जस्तै मालदार मुर्गा फसाउन खोजिरहेका छन् । अहिले लक्ष्मीको पनि स्वास्थ्य अवस्था बिग्रदै गएको छ । शिशुलाई त पहिलादेखि नै उपचारको जरुरत थियो । दुखको कुरा गैरजिम्मेवार अभिभावकका कारण अबोध शिशुले उपचार पाउन सकेको छैनन् । अबोध शिशुलाई उपचारको जरुरी छ । तर उनको बाबुआमाको हरकतले सहयोगमा जुटेका सहयोगीदाता तथा संस्था रुष्ट भएका छन् । यसले गर्दा शिशुको जीवनै खतरामा परेको छ । – किवानिज क्लब अफ तारकेश्वरका अध्यक्ष सुरेन्द्र भट्टसँग गरेको कुराकानीको आधारमा तयार गरेको सामग्री

प्रतिक्रिया