मनसुन प्रभाव : २३३ जनाको मृत्यु, ४१ बेपत्ता

काठमाडौं । नेपालमा गत बैशाख १ गतेदेखि भदौ २५ गतेसम्म विपतका घटनामा परी २३३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख १ देखि भदौ २५ गतेसम्म देशभर १७५४ विपतका घटना भएका छन् जसमा परि २३३ को मृत्यु भएको हो ।
साथै उक्त घटनामा परि ४१ जना वेपत्ता भएका छन् । हाल वेपत्ता भएकाहरुको खोजीकार्य सरकारले जारी राखेको छ । घटनामा परि देशभर ४६१ जना घाइते भएका छन् भने २२६८ परिवार प्रभावित भएका छन् । देशभर भएका विपतका घटनामा अनुमानित ७ अर्व ७६ करोड १० लाख २५ हजार ८४२ रुपैयाँ क्षति भएको छ । करिब पाँच महिनाको अवधिमा सबैभन्दा बढी पहिरोका घटनामा परि ७७ जनाले ज्यान गुमाएका छन् भने ८९ जना घाइते भएका छन् ।
उक्त अवधिमा २५७ वटा पहिरोका घटना भएका थिए । त्यसपछि चट्याङका घटनामा परि ४७ जनाले ज्यान गुमाएका थिए । भने १२७ जना घाइते भएका थिए । सो समयमा चट्याङका १५२ घटना भएका थिए । त्यसपछि बाढीका करिब ११७ घटनामा ३८ जनाले ज्यान गुमाएका छन् भने ३२ जना घाइते भएका थिए । विभिन्न जनावरको आक्रमणमा परि देशभर २१ जनाको मृत्यु भएको छ भने ७४ जना घाइते भएका छन् ।
त्यस्तै नेपालमा पछिल्लो समय सर्प दशंका घटना पनि बढेका छन् । खास गरि वर्षाको सिजनमा सर्पको बिगबिग बढी हुने गर्दछ । त्यसैले पनि यो समयमा सर्प दंशका घटना बढेका हुन् । करिब पाँच महिनाको अवधिमा सर्प दंशका १९ घटना भएकोमा १६ जनाले ज्यान गुमाएका छन् भने ४ जना घाइते भएका छन् । यस्तै वैशाख १ देखि भदौ २५ गतेसम्मको अवधिमा देशभर ६७९ आगलागीका घटना भएका छन् । जसमा परि १४ जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् ।
यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने मौसमविदहरुले बताएका थिए । तर विपतजन्य तयारीमा भएको ढिलाईका कारण यस वर्ष विपतजन्य घटनामा परि धेरैले अकालमा ज्यान गुमाउनु पर्यो भने धेरै परिवार घरवार बिहिन हुन पुगे । नेपालमा अझै मनसुन बाहिरिएको छैन त्यसैले पनि अझै जोखिम कायमै छ ।

प्रतिक्रिया