‘किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्छ’

नेपालखोज २०७८ भदौ २५ गते १७:४४

काठमाडौं । यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फर्स्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिइन् ।

उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताइन् । कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताइन् ।

कार्यक्रम संयोजक गुरुङले भनिन्, ‘हामीले चाहेमा घातक रसायनिक विषदीरहीत खेतीपातीबाट विषमुक्त र पोषणयुक्त खाना सबै र सधैँका लागि उपलब्ध गराउन सक्छौँ भन्ने कुरामा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाओस् भन्न चाहन्छाैँ, हाम्रा सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र शाहसी राजनैतिक प्रतिज्ञा यसरी बिर्से कि त्यो भन्नका लागि मात्रै भनिएको जस्तो भान भएको छ, प्रदेश र पालिकाहरुले पनि यस दिशामा धेरै उत्साह देखाएका छैनन् ।’

संयोजक गुरुङले १४औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताइन् । उनले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताएकी छन् ।

नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने भन्दै संयोजक गुरुङले सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आह्वान गरिन् । यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि सुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशक यता मनाउँदै आएको छ ।

प्रतिक्रिया