मंगलबार, वैशाख ११, २०८१

घात-अन्तर्घात !

ओम आचार्य २०७८ भदौ २६ गते ८:१२
ओम आचार्य

नेपालको राजनीतिमा अन्तर्घात शब्द निकै चर्चित छ । विशेषगरी बहुदलीय व्यवस्था स्थापना भएपछिको आमनिर्वाचन पश्चात् । त्यसो त पञ्चायतकालीन चुनावमा अन्तर्घात हुँदै नभएको होइन तर त्यति बेला यसले अन्तर्घात नामचाहिँ पाइसकेको थिएन अथवा यो त्यति प्रचलित थिएन न शब्द न व्यवहार । अन्तर्घात राजनीतिक फिल्ड त्यो पनि निर्वाचनकै परिवेशमा मात्रै हुन्छ ? यो अन्तर्घात राजनीति क्षेत्रबाहेक अन्य क्षेत्रमा हुँदैन ? अन्तर्घात व्यवसायमा, जागिरमा, सामाजिक संघ-संस्थामा, खेल क्षेत्रमा, पारिवारिक सम्बन्धमा, प्रेममा, दाम्पत्य जीवनमा आदि क्षेत्रमा पनि अन्तर्घात हुन्छ । यो अन्तर्घातले कोही व्यवसायी सडकमा आए, कोही प्रेमीले आत्महत्या गरे, कति जागिरेले जागिर छोड्नुपर्‍यो, कतिको दाम्पत्य जीवनमा विग्रह आयो । आखिर अन्तर्घात हुन्छ कसरी, कसरी उम्रन्छ, कसरी प्रस्फुटित हुन्छ, कसरी पल्लवित हुन्छ, त्यसको कारक के हो, त्यसको जीवनदाता को हो, त्यसको जन्मदाता को हो रु यसको जन्मदाता तपाईं, हामी नै हौं ।

कुनै पनि क्रियापछि उत्पन्न हुने प्रतिक्रिया अर्थात् हाम्रो क्रिया सकारात्मक हुँदा प्रतिक्रिया पनि सकारात्मक हुन्छ हाम्रो क्रिया नकारात्मक हुँदा प्रतिक्रिया पनि नकारात्मक हुन्छ । त्यो नकारात्मक प्रतिक्रियाबाट उत्पन्न क्रियालाई नै हामी अन्तर्घात भन्छौं र यसरी हामी अन्तर्घात जन्माउछौं ।

कोसीको वेगलाई, कोसीको प्रवाहलाई अप्राकृतिक, अनुचित तरिकाले, अवैज्ञानिक तरिकाले जबरजस्ती बाँध बाँध्यौं भने, रोक्न खोज्यौं भने अन्तत: त्यो बाँध भत्काउँछ र त्यो वेगले त्यो प्रवाहले तहस-नहस गर्दै अगाडि बढ्छ । शक्ति कसैले रोक्न सक्दैन यो आफैं प्रस्फुटित हुन्छ, यो आफैं पल्लवित हुन्छ, यो आफैं उदित हुन्छ । यही शक्ति रोक्ने प्रयासमा यही शक्तिमाथि घात गर्ने प्रयासमा त्यही क्रियाले उत्पन्न गर्छ अन्तर्घात ।

जसले घात गर्छ उसैमाथि हुन्छ अन्तर्घात । यो प्रकृतिजन्य सिद्धान्त हो । यो स्वभाविक प्रक्रिया र प्रतिक्रिया हो । यो कुरा नेपाली कांग्रेसले बुझ्नुपर्छ । यो कुरामा नेपाली कांग्रेसले खोज गर्नुपर्छ । अनुसन्धान गर्नुपर्छ । अन्तर्घाती भनेर दोष लागेकाहरुमाथिको घातकै प्रतिक्रिया हो अन्तर्घात । यसरी बुझे यसरी स्विकारेर अगाडि बढ्ने हो भने कांग्रेसमा आफैं शुद्धि हुन्छ ।

अन्तर्घात यसरी नै जन्मन्छ नेपाली कांग्रेसमा विगत ४० वर्षदेखि हेरौं कार्यकर्ता पक्तिमा कहीँ न कहीँ कुनै न कुनै रुपमा नेतृत्व वर्गबाट घात भएकै छ । यस्तो घातबाट कार्यकर्ता पार्टी छाडेर स्वतन्त्र रुपमा बसेका छन् । कोही उदासीन भएर बसेका छन् । कोही पलायन भए । कोही अन्य पार्टीमा प्रवेश गरे । एकपल्ट नेतृत्व तहमा बसेकाहरुले पछाडि फर्केर हेर्ने हो भने, आफ्नो कार्यशैलीको समीक्षा गर्ने हो भने उनीहरुबाट को-को पीडित भएका छन् । को-को पलायन भएका छन् । को-को उदासीन भएका छन् र को-को पार्टी छोडेर गएका छन् सबै देख्ने नै छन् र पनि आफूलाइ सच्याउन चाहिरहेका छैनन् । यहाँसम्म कि अन्य नेतृत्व तहमा बसेका नेताहरुले त्यस्ता कार्यकर्तालाई पार्टी प्रवेश गराउन, पार्टीमा सक्रिय गराउन, सम्मानपूर्वक पुन: मातृ पार्टीमा ल्याउन प्रयत्न गर्दा पनि जसले घात गरेर विस्थापित गराएका छन् उनीहरुको हठ, दम्भले पनि पार्टी प्रवेश गराउन सकिरहेका छैनन् । यसमा पनि उनीहरुको दम्भ र हठले अन्तर्घातमाथि पुन: अन्तर्घात गरेकै छ । सबैभन्दा खतरनाक अन्तर्घात यही हो र यसमा पार्टी हाइकमानले आफैंले पार्टी प्रवेशको यो कार्यमा नतिजा दिन सक्नुपर्छ । यो कार्यले पनि ठूलो रुपमा पार्टी शुद्धीकरण हुनेछ र संगठन मजबुत भएर जाने देखिन्छ ।

मूल कुरा नेपाली कांग्रेसका शीर्ष नेताहरु, केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरुलगायत पार्टी तहका जिम्मेवार सदस्यहरुले जब आफ्नो व्यक्तिगत भविष्यको विचार गर्छन् तब पार्टीमा अन्तर्घात सुरु हुन्छ । यसैबाट पार्टीमा चिन्ता र तनाव बढ्छ । आफ्नो निजी भविष्यको विचार नगरी यदि पार्टीको भविष्यलाई लिएर अघि बढ्ने हो भने न त अन्तर्घात हुन्छ न त जीवन नै तनावपूर्ण बन्छ । आफ्नो होइन पार्टीको भविष्यलाई मध्यनजर गरेर अघि बढे पार्टीको संगठन आफैं मजबुत भएर आउँछ ।

प्रतिक्रिया