शुक्रबार, वैशाख २१, २०८१

राजा त्रिभुवनको स्मृति दिवस

सुनील उलक २०७९ फागुन ३० गते ७:५९

काठमाडौं । आजको ठिक ६८ वर्ष अगाडी राजा त्रिभुवनको स्वर्गारोहण भएको थियो । स्विटजरल्याण्डको ज्यूरिचमा उपचारको क्रममा केवल ४८ वर्षको उमेरमा वहाँको देहावसान भएको थियो ।

उहाँको अन्तिम अवस्थाको यो वर्णन उहाँको अघोषित प्रेमिका इरिका लुट्यागको जीवनीमा आधारित पुस्तक “इरिका एण्ड दि किङ्ग”बाट । यहाँ वर्णित म भन्ने शब्दले स्वयं इरिकालाई जनाउनेछ ।

२०११ को असोजमा राजाबाट मलाई नेपालमा फर्केर आउन अनुरोध गर्नु भएको थियो । म अलि हतारिँदै तैयारी गर्न थालेको थिए । मेरो सामानको तौल ४५ केजी भन्दा बढी भइसकेको थियो । मलाई महत्त्वपूर्ण लागेका सबै सामान मैले राख्दै थिएँ । राजा र मलाई एकदम मन पर्ने “किङ एण्ड आइ” को रेकर्ड, रानी र सरलाको लागी ऊनीको सल, ऊनीको चेक सर्ट राजाको लागी, आइरिस लाइलनको कपडा, सुनको डिजाइन राखेको काङ्गियो, तातो पानीको बोतल सबै राखिसकेको थिए । साथै आफू नेपाल जान लागेको हुँदा सबैको लागी ५ शिलिङको रानी एलिजाबेथको राज्याभिषेकको सिक्का पनि सुनौला र सेतो रिबनले बाँधेर उपहारका रूपमा हुलाकबाट पठाइसकेको थिएँ । मैले पठाएको उपहार बेलायत र दिल्ली बिच कतै पुगेको थियो होला । अचानक यही बेला राजाको पत्र आइपुग्यो । पत्रमा लेखिएको थियो ।

म शायद काठमाडौँ हुँदिन होला । डाक्टरको सल्लाहले उपचारको लागी म काठमाडौँ बाहिर जाँदै छु । कति समय रहने भन्ने मेरो स्वास्थ्य अवस्थामा नै निर्भर गर्नेछ ।

यो पत्रले मेरो यात्राको कार्यक्रम अचानक रद्ध भयो । उपहारहरु अस्वीकार नगरिदिन मैले अनुरोध गरे । यो उपहारहरु खोलिएको मैले हेर्न नपाउने भएको भन्दै मैले लेखेको पत्रको जवाफमा राजाले लेखे, तिम्रो उपस्थिति बिना तिम्रो उपहार स्वीकार गर्नुपर्दा धेरै दुख लाग्यो । पछिल्लो पटकको यात्रामा तिमीसँग भेट्न नपाएकोमा म एकदम दुखी छु । यस पटक आशा गर्छु युरोपको कुनै ठाउँमा कसैगरी भेट हुनेछ । यस पटक म बिमार हालतमा आँउदैछु यसैले पनि म कुनै अस्पतालको शैया वा क्लिनिकमा हुनेछु । र डाक्टरको अनुमतिमा नै मैले सबै गर्नुपर्नेछ ।

नभन्दै मङ्सिरमा उपचारको लागी युरोपको लागी राजा निस्किए । निस्कने समय बिदाइमा विमानस्थल आइपुगेको समूहलाई बिदाइ गर्दै भने, ‘मलाई थाहा छैन तपाइहरूलाई फेरी हेर्न पाउनेछु या छैन ।’ पुसको अन्तसम्म पनि ज्यूरिचको क्लिनिकबाट मलाई केही जानकारी आएन । म त्यो दुखको क्षण केवल कल्पना गरिरहे, अबको वसन्तमा कुनै समुन्द्र किनारमा बिताउने छौ । जुन ठाउँ हामी दरबार भित्रको ह्याप्पी कटेजमा बसेर ग्लोबलाई घुमाउँदै खोज्दै गर्थ्यौ ।

त्यो फागुनको अन्तिम दिन आइतबार साँझपख म घरको कैद खाना जस्तो कोठा देखी बाहिर जेलमुक्त झैँ भाडाको फ्लैटमा बसेर रेडियोमा गीत सुन्दै थिए । मेरो नजिकै आमा हुनुहुन्थ्यो र मेरो एउटी साथी पनि बसिरहेकी थिई । अचानक रेडियोबाट गीत बन्द भयो र बिचमै समाचार सुनाउन थाल्यो, तीन घण्टा अगाडी राजा त्रिभुवनको देहावसान भयो । म अचानक झस्किए उठेर कोठाको बिचमा पुगे । मेरी आमा र मेरी साथीले मलाई एकतमास हेरिरहिन । उनीहरूलाई थाहा थिएन म नेपालमा के गर्दथे भनेर । मैले अचानक लापरवाहसँग डिन मार्टिनको ‘अण्डर द ब्रिजेज अफ पेरिस” गीत गुनगुनाउन थाले,

How would you like to be, Down by the Seine with me Oh what I’d give for a moment or two Under the bridges of Paris with you

म त्यसपछिका कुनै पनि क्षण फेरी सम्झन चाहन्न । खुसीको एउटा भावना जागिरहेको समय अचानक आइपरेको यो दुखको क्षणको बारेमा सम्झन चाहन्न । ठुलो पिडा भित्र पनि एउटा डर लुकिरहेको थियो । तर त्यो पिडा सुनाउन कठिन थियो । मैले राजाको उपचार भइरहेको अस्पताल यूनिवर्सिटी मेडिकल क्लिनिकका प्रोफेसर लुफ्लरलाई लेखे, म राजपरिवारको नजिकको व्यक्ति हुँ । राजाको अप्रत्याशित देहावसानले मलाई निकै चोट पुगेको छ । मैले जान्न खोजेको कुराहरू तपाइले बताइदिनुभएमा म धेरै नै खुसी हुनेछु ।

मैले सोध्न खोजेको कुरा बुझेर उनले मलाई लेखे । ‘राजा त्रिभुवन पहिलो पटक हाम्रो अस्पतालमा अघिल्लो वर्ष कार्तिकमा आउनु भएको थियो । नेपाल देखिको यात्रा लामो र गाह्रो थियो । त्यसमा पनि समुन्द्री यात्राले अझ कठिन बनाएको थियो । इटलीको नेपल्समा केही समय रोकिनु भयो । हामी कहाँ आइपुग्नु भए पछि हामीले सक्दो प्रयास गर्‍यौ र वहाँलाई वहाँको देश सकुशल पुग्न सक्ने बनायौ । नेपाल पुगेपछि जेठमा फेरी नराम्ररी बिमार हुनुभयो । निको भएपछि फेरी वहाँले हाम्रै अस्पताललाई सम्झनु भयो ।’

‘मङ्सिरमा फेरी वहाँ अस्पताल भर्ना हुनुभयो । केही सकुशल हुँदै थियो । यस पटक हवाईजहाजमा फर्कने सल्लाह हुँदै थियो । यसैबिच अचानक माघको १८ गते दोस्रो पटक हृदयाघात भयो । मैले केही दिन हेरे त्यसपछि लन्डनबाट डाक्टर पार्किन्सन र भियनाबाट प्रोफेसर लाउडर आउनुभयो र वहाँहरु कै निगरानीमा उपचार भयो । वहाँहरूको उपचारबाट बिस्तारै निको हुँदै थियो अचानक इन्फ्लुएन्जाले समात्यो । जसले गर्दा वहाँलाई निकै गाह्रो भयो ।’

निकै गाह्रोसँग उहाँलाई स्पेसल ट्रेनमा फागुनको २६ मा ज्यूरिच ल्यायौ । उहाँको उपचारमा राम्रै हुँदै थियो । उहाँलाई बिसेक हुँदै थियो । तर हुने कुरालाई तार्न सकिँदैन मृत्युलाई कसैले छेक्न सकेन । अचानक फागुन ३० गते दिउसो ३ बजे स्वर्गारोहण हुनुभयो । तर अन्तिम समय शायद उहाँलाई मृत्युको आभास भएको थियो, त्यसैले उहाँले बारम्बार नर्सलाई सोध्नुभएको थियो, ‘के आज राती म मर्दै छु ।’

प्रतिक्रिया