‘पर्यटन व्यवसायलाई संचालन गर्ने वातावरण बनाउन माग’

काठमाडाैं । विज्ञहरुले पर्यटन व्यवसायलाई निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।
पर्यटन क्षेत्रमा आवद्ध संघ, संगठन तथा यस क्षेत्रका विज्ञहरुले पर्यटन व्यवसाय पूर्ण रुपमा संचालन हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।
आईतबार ( आज) काठमाडौंमा पत्रकारसँग भेटघाट कार्यक्रम कार्यक्रममा बोल्दै नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स (नाटा), होटल एसोसिएशन नेपाल (हान) र नेपाल पर्यटन बोर्ड (एनटीबी) ले संयुक्तरुपमा नेपालमा पर्यटन व्यवसाय पूर्ण रुपमा खुल्ला गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय घिमिरेले नेपालमा पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै सरकारले भ्याक्सिनेटेड पर्यटकको भिजा अन अराइभलको व्यवस्था गर्नुपर्ने बताए। उनले पर्यटन प्रवद्र्धन, विकास र सहजरुपमा सञ्चालन गर्नको लागि सरकारले पर्यटनसम्बन्धी निर्णय लिने हरेक बैठकमा निजी क्षेत्रका व्यवसायीहरुलाई पनि समेट्नु पर्ने बताए ।
कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) का अध्यक्ष अच्युत गुरागाईंले सीसीएमसीले व्यावसायीलाई हाउगुजी बनाएको बताए । उनले त्यहाँ बस्नेहरुले विभिन्न स्वार्थले गर्दा पर्यटन व्यवसायीहरु मारमा परिरहेको आरोप लगाए । अध्यक्ष गुरागाईंले अब पनि पर्यटन व्यावसाय चल्न नदिए सडक र सिंहदरबार घेर्ने चेतावनी दिए ।
त्यस्तै होटल एसोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणाले सरकारले कोरोनाको महामारी चलिरहे पनि देशको अर्थतन्त्रमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन व्यवसायीहरुको बाच्ने आधार भनेकै पर्यटक भएकोले सरकारले यसलाई चासोका साथ पूर्ण रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र भ्याक्सिनेटेड पर्यटकलाई अन अराइभल भिजाको व्यवस्था गर्नुपर्ने बताए ।नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले विगत डेढ वर्षदेखि कोरोनाका कारण बन्द रहेको पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्यटकहरु भित्राउनुपर्ने बताए ।
उनले सरकारले पूर्ण कोरोना भ्याक्सिन लगाइसकेका र नेपाल आइपुग्दा ९६ घण्टा ननाघेको पीसीआर नेगेटिभ रिपोर्ट लिएर आउने यात्रीहरुलाई बिना क्वारेन्टाइन र सहज यात्राको वातावरण मिलाइदिनुपर्ने बताए । उनले पर्यटन उद्योगलाई बचाउन र फेरि लयमा फर्काउनका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बेला भइसकेको बताए।
पूर्व अध्यक्ष जोशीले नेपालको पर्यटनमा कार्यरत अधिकांश सेवा प्रदायक पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीय समुदायहरुले पनि पूर्ण मात्राको भ्याक्सिन लगाइसकेकोले यस सम्बन्धमा सकारात्मक सन्देश फैलाउन ट्राभल एडभाइजरुी जारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया