वार्तामा आउन एमालेलाई गृहमन्त्री खाँणकाे आग्रह

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा आउन आह्वान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सञ्चारकर्मीमार्फत् आग्रह गरेका हुन् ।
सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आईतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ ।
कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणले संवादको माध्यामबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नु भयो । उनले आइतबार संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदमा देखिएका समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सोमबार (भोलि) दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाएका जानकारी दिए ।
गृहमन्त्री खाँणले भोलि बस्ने सो बैठकले संसदमा देखिएका सबै समस्या समाधान हुने अपेक्षासमेत गरे । उनले भने, ‘म आग्रह गर्न चाहन्छु– भएका मतभेदहरुलाई सुल्झाएर जाऊ । संवाद, छलफल र वार्ताको माध्यामबाट हामीले ठूल्ठूला समस्याहरुलाई सम्बोधन गरेका छौं । र अहिले संसदमा देखिएका समस्याहरुलाई पनि सम्बोधन गर्न सकिन्छ भन्ने नै हाम्रो विश्वास हो । आज पनि सभामुखले बोलाउनु भयो र हाम्रो कानुन मन्त्री र प्रतिपक्ष दलका माननीयहरुबीचमा संवाद भयो तर सहमती जुट्न सकेको छैन । भोलि पनि सभामुखले सबै दलका नेताहरुलाई बोलाउनु भएको छ । र विश्वास गरौं–भोलि समस्या समाधान हुन्छ ।’
सभामुख अग्नी सापकोटाले आइतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद सूचारु गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया