पाँच महिनापछि बेनी–दरबाङ सडक निर्माण सुरु

नेपालखोज २०७८ भदौ २८ गते ७:२८


म्याग्दी । बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ ।

म्याग्दीको रणनीतिक महत्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले काम सम्हालेको हो ।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुआत गरेको जानकारी दिए ।

बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने जनाइएको छ । विसं २०७४ असोज ४ गते रु। ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको जानकारी दिए ।
चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका इञ्जिनीयर शाहले बताए । बर्खा रोकिएपछि बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण सुरु गर्ने उनले बताए ।

कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयका इञ्जिनीयर सञ्जय सुवेदीले बताए । रासस

प्रतिक्रिया