प्लाज्मा थेरापी गराउनेमा समस्या, बढायो मृत्युदर !
क्यानाडाको नेचर जर्नलले गरेको अध्ययनअनुसार प्लाज्मा थेरापीले कोरोनाका बिरामीको उपचार कम तर समस्या भने बढी ल्याएको छ । प्लाज्मा थेरापी गराउनेहरुमा मृत्युदर पनि बढी छ ।

काठमाडौं । कोरोनाको दोस्रो लहरमा भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्लाज्मा थेरापीलाई निकै प्रभावकारी मानिएको थियो । एक समय प्लाज्मा खोज्ने र डोनेसन दिनेको लहर नै आएको थियो । यद्यपि अहिले प्लाज्मा थेरापीमाथि गरिएका अध्ययनहरुले आश्चर्यजनक नतिजा दिइरहेका छन् । क्यानाडामा नेचर जर्नलले गरेको अध्ययनअनुसार प्लाज्मा थेरापीले कोरोनाका बिरामीको उपचार कम तर धेरै समस्या सिर्जना गरेको छ । अध्ययनअनुसार प्लाज्मा थेरापी गराउनेमा मृत्युदर पनि बढी छ ।
‘कोवेलेसेन्ट प्लाज्मा फर हस्पिटलाइज्ड पेसेन्ट विथ कोभिड-१९ एन ओपन लेबल, र्याडोमाइज्ड कन्ट्रोल्ड ट्रायल’ शीर्षकमा गरिएको उक्त अध्ययनमा ९४० बिरामीलाई सहभागी गराइएको थियो ।
बिरामीलाई दुई भागमा बाँडेर गरिएको अध्ययनअनुसार प्लाज्मा थेरापी गराएका ३३.४ प्रतिशत बिरामीमा अक्सिजन लेबल कम हुनुका साथै श्वाससम्बन्धी समस्या पनि बढेको पाइयो । जबकि प्लाज्मा थेरापी नगराएका अर्को समूहका २६.४ प्रतिशत बिरामीमा मात्र यस्तो समस्या देखियो ।
यसैगरी प्लाज्मा थेरापी गराउने बिरामीको मृत्युदर पनि बढेको छ । अध्ययनअनुसार प्लाज्मा थेरापी गराउने २३ प्रतिशत बिरामीको मृत्यु उपचारको ३० दिनभित्र भएको पाइएको छ । जबकि अर्को समूहमा २०.५ प्रतिशत मृत्यु दर्ता भएको छ ।
अहिले धेरै देशले कोरोनाको उपचारमा प्लाज्मा थेरापीको उपयोग बन्द गरिसकेका छन् । उनीहरुले यसलाई कोरोना उपचार निर्देशिकाबाटै समेत हटाएका छन् ।
-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा
-प्रतीकात्मक तस्बिर
प्रतिक्रिया