‘संविधान र संसदीय प्रणालीको मर्यादा जोगाउन प्रधानमन्त्री आफैं अग्रसर हुनुपर्छ’

नेपालखोज २०७८ भदौ २८ गते १२:१७

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्यले संविधान र संसदीय प्रणालीको मर्यादाको प्रतिरक्षा गर्न प्रतिपक्षसँग संवाद र संवादबाटै परिणाम प्राप्त गर्ने प्रक्रियाको थालनी गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै आज जारी गरेको अपिलमा नेता आचार्यले यसबारे बताएका हुन् । आचार्यले देश गम्भीर राजनीतिक मुठभेडतर्फ जाँदै छ भन्दै यसलाई रोक्न इमानदार संवाद र छलफल तत्काल प्रारम्भ गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे । उनले भनेका छन्, ‘जस्ता गल्ती पूर्वप्रम ओलीले गर्नुभयो, तिनै गल्ती नदोहोर्‍याउनुहोस् ।’

हाम्रो संविधान र संसदीय लोकतन्त्र दिग्भ्रमित कम्युनिस्ट नेतृत्व र पार्टीको निशानामा परेको छ भन्ने कुरा उल्लेख गर्दै आचार्यले विधिको बेवास्ता र विकृत सत्ता राजनीतिमा हाम्रै आचरणले पनि संकट गहिरिँदै जान सक्छ भन्नेतर्फ पनि प्रधानमन्त्री देउवालाई सचेत गराए ।

आचार्यले भनेका छन्, ‘प्रधानमन्त्रीको भूमिकामा तपाईं संसद्‌को नेता हो, त्यसैले संविधान र संसदीय प्रणालीको मर्यादाको प्रतिरक्षा गर्न प्रतिपक्षसँग संवाद र संवादबाटै परिणाम प्राप्त गर्ने प्रक्रियाको प्रारम्भ गर्नुहोस् ।

प्रतिक्रिया