भरतपुर अस्पतालमा बहिरंग सेवाको समय बढाइने

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।
यसअघि अस्पतालले बहिरंग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पोडेलका अनुसारबिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब मध्यान्न १२ बजेसम्म काटिने भएको छ ।
बहिरंग सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताए । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले बहिरंग सेवाको समय बढाइएको उनको भनाइ छ । सङ्घीय अस्पताल भरतपुरमा ६०० श्यया छन् । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताए । यसबाट कोरोना सङ्क्रमण फैलिनसक्ने जोखिम कम हुने अधिकारीले बताए । रासस

प्रतिक्रिया