एमालेको अवरोधकाबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित

काठानडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक–२०७८ पारित गरेको छ ।
राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले अवरुद पारेका थिए । तर अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक-२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए ।
सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे । यस अघि एमालेकी सांसद कोमल वलीले सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा नदिई बैठक सुरु हुन नदिने अडान राखेका थिए ।
उनले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षडयन्त्रविरुद्ध उभिनु परेको पनि पटकपटक दोहाेर्याए ।
एमालेका सांसदहरुको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले राष्ट्रियसभाका पूर्व सांसद रुक्म शमशेर राणाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
गत भदौं २६ गते काठमाडौंमा निधन भएका उनले २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं ३० गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया