शुक्रबार, वैशाख १४, २०८१

कासी विश्वनाथ करिडोरको फर्स्ट लुक : ७० प्रतिशत निर्माण पूरा

नेपालखोज २०७८ भदौ २८ गते १५:२०

करिब ५०२६० वर्ग मिटरमा तयार भइरहेको विश्वनाथ करिडोरमा मन्दिर बाहिरका सबै २४ भवनको निर्माण पूरा भएर फिनिसिङको काम चलिरहेको छ ।

वाराणसी । बनारस पनि नेपालीको एउटा प्रमुख तीर्थस्थल हो । नेपालीहरु खासगरी विश्वनाथको दर्शन गर्न धर्मनगरी बनारस पुग्छन् ।

पशुपतिनाथपछि विश्वनाथको दर्शन नगर्नेहरु कमै हुन्छन् । विश्वनाथ दर्शनका लागि जमिनबाट त्यहाँ पुग्ने अनेक नाका र बाटा छन् । बनारस जाने नेपालीको ठूलो संख्या देखेरै बुद्ध एयरले बनारस उडान सुरु गरेको थियो जुन कोरोना महामारीका कारण हाल बन्द छ । बनारससँग नेपालका अनेकन प्रसंग, लाखौं मानिस र केही भौतिक संरचना सोझो तवरमा गाँसिएका छन गहिरोसँग ।

यद्यपि अहिले हामी ती प्रसंगको कुरा गर्न गइरहेका छैनौं । कुरा हो नेपालीहरुले अत्यधिक आस्था राख्दै दर्शन गर्दै आएको काशी विश्वनाथ मन्दिरको जीर्णोद्धार अर्थात पुनर्निर्माणको । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निर्वाचन क्षेत्रका रुपमा बनारसलाई छनोट गरेदेखि यो उनको प्राथमिकतामा पर्दै आएको छ । हिन्दुवादी नेता मोदीले बनारसलाई आफ्नो निर्वाचन क्षेत्र बनाउनु र त्यहाँका धार्मिक सम्पदाहरुको संरक्षणमा विशेष कदम चाल्नुको आफ्नै राजनीति छ । यद्यपि यसबाट विश्वनाथ मन्दिरको काचुँली पनि फेरिँदै छ ।

अहिले कासी विश्वनाथ मन्दिर चोकको पुनर्निर्माण चलिरहेको छ । चाँडै यो मन्दिरले भव्य रुप प्राप्त गर्दै छ । सोमबार उक्त मन्दिरको एउटा तस्बिर सार्वजनिक भएको छ । जसमा नक्कासीदार भवन र खम्बाहरुको गुलाबी आभाबीच सुनको शिखरयुक्त बाबा विश्वनाथको मन्दिर देखिन्छ । भनिन्छ विश्वनाथ मन्दिरको यो नयाँ रुपले जो कसैलाई मोहित तुल्याउँछ । विश्वनाथ धाम र विश्वनाथ करिडोर निर्माण सुरु भएदेखि नै यसमा धेरैको चासो थियो कि अब कस्तो देखिने छ यो मन्दिर क्षेत्र भनेर । अब पर्खाइको समय निकै कम हुँदै गएको छ ।

मन्दिरको सार्वजनिक ताजा तस्बिरमा नक्कासीदार
भवन र खम्बाहरुको बीचमा गर्भगृह अनि स्वर्णशिखर देखिएको छ । भनिन्छ चुनारको गुलाबी पत्थरहरुबाट गर्भगृहको प्रदक्षिणा मार्ग तयार भइसकेको छ । यसको पूर्वी गेट पनि लगभग तयार छ । गंगा नदीबाट जल लिई भक्तहरु यही पूर्वी गेटबाट मन्दिर परिसरमा प्रवेश गरी गर्भगृहसम्म पुग्छन् ।

समाचारअनुसार त्यहाँ गंगा भ्यु ग्यालरीको भवन पनि निर्माण भइसकेको छ । गंगा भ्यु ग्यालरीको निर्माण पूरा भएपछि कासीसँग जोडिएको एउटा पौराणिक मान्यता यथार्थमा परिवर्तन हुनेछ । भनिन्छ प्राचीन समयमा गंगा नदीबाटै बाबा विश्वनाथको दरबार देखिन्थ्यो । अब गंगा भ्यु ग्यालरीबाट पर्यटकहरुले गंगा माता र बाबा विश्वनाथको दर्शन एकसाथ गर्न सक्नेछन् ।

फिनिसिङको काम जारी
करिब ५०२६० वर्गमिटरमा तयार भइरहेको विश्वनाथ करिडोरमा मन्दिर चोकको बाहिर २४ वटा भवन निर्माण गरिएका छन् । जसको अहिले फिनिसिङको काम चलिरहेको छ । ती भवनमा भोगशाला, कफी सप, म्युजियम, मुमुक्षु भवन, यात्री सुविधा केन्द्र, पर्यटक सेन्टर, नीलकण्ठ भवन, अफिस आदि रहनेछन् ।

यो मन्दिर क्षेत्रको पुनर्निर्माणमा सात किसिमका विशेष पत्थर प्रयोग गरिएको बताइएको छ जसमा बालेश्वर स्टोन, मकराना मार्बल, कोटा ग्रेनाइट र म्याडोना स्टोन आदि छन् । मन्दिर पुनर्निर्माणमा संलग्न सरकारी अधिकारीहरुका अनुसार अहिले सम्म ७० प्रतिशत काम पूरा भइसकेको छ । अब केवल फिनिसिङको काम चलिरहेको छ । दुई महिनापछि अर्थात् नोभेम्बरसम्ममा बाँकी काम पनि पूरा हुनेछ । भनिन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भक्तजनका लागि यसको शुभारम्भ गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया