शुक्रबार, वैशाख १४, २०८१

सरल बनाइँदै अमेरिकी ग्रिनकार्ड, यस्ता छन् पूरा गर्नुपर्ने सर्त !

नेपालखोज २०७८ भदौ २९ गते ६:२०

रिकन्सिलेसन बिलअनुसार अब १५०० डलर सप्लिमेन्ट्री शुल्क बुझाएर निर्देशनालयको प्रक्रिया र मेडिकल परीक्षा उत्तीर्ण गरी ग्रिनकार्ड हासिल गर्न सकिनेछ ।

काठमाडौं । यूएस हाउस ज्युडिसियरी कमिटीका तर्फबाट जारी गरिएको प्रस्तावित इमिग्रेसन नियममा एउटा रिकन्सिलेसन बिल पनि समावेश छ । जसले अमेरिकामा ग्रिनकार्ड होल्डर बन्न चाहनेलाई राहत दिन सक्छ । यो धेरै नेपालीका लागि पनि राम्रो खबर सबित हुन सक्छ । जो वर्षौंदेखि मनमा ग्रिनकार्डको सपना सजाएर बसेका छन् ।

उक्त बिलअनुसार १५०० डलर सप्लिमेन्ट्री शुल्क दिएर, निर्देशनालयको प्रक्रिया र मेडिकल परीक्षा उत्तीर्ण गरेपछि अमेरिकामै बस्ने सपना देखिरहेका आप्रवासीहरुको ग्रिनकार्डमाथिको दाबेदारी मजबुत हुनेछ ।

यसका लागि दुईवटा सर्त पूरा गरेको हुनुपर्नेछ । पहिलो- यस्ता आप्रवासीहरु १८ वर्षको उमेरभन्दा पहिले नै अमेरिका पुगेर लगातार त्यहीँ बसेको हुनुपर्छ । अर्को १ जनवरी २०२१ देखि लगातार शारीरिक रूपले अमेरिका बस्नु पर्नेछ ।

त्यसका अतिरिक्त ग्रिनकार्डमा आफ्नो दाबेदारी मजबुत गर्न अन्य चार सर्त पनि पूरा गर्नुपर्नेछ ।
१. यू.एस.को सशस्त्र बलमा सेवा गरेको ।
२. अमेरिकाको कुनै विश्वविद्यालय वा इन्स्टिच्युटबाट डिग्री प्रोग्राम वा पोस्ट-सेकेन्डरी क्रेडिन्सियल प्रोग्राममा कम्तिमा दुई वर्षको पढाइ पूरा गरेको वा पढिरहेको ।
३. ग्रिनकार्डका लागि आवेदन दिनुभन्दा पहिलेको तीन वर्षभित्र यूएसमा आर्जित आम्दानीको डिटेल रेकर्ड ।
४. इन्टर्नसिप, इन्टरप्रेनरसिप वा अन्य प्रशिक्षण कार्यक्रममा अमेरिका पुगेकाहरुले पनि आवेदन दिन सक्नेछन् ।

अमेरिकामा हुर्किंदै पढेका युवा आप्रवासीहरुका लागि यो निकै महत्त्वपूर्ण कुरा हो । कम्तिमा यसले सबैजसो युवा आप्रवासीलाई आवेदनको अनुमति प्रदान गर्छ ।

आप्रवासीहरुमा रिसर्च गरिरहेका डेभिड बियरको सुरुवाती अध्ययनअनुसार अमेरिकामा ईबीटू र ईबीथ्री रोजगार आधारित ग्रिनकार्डमा लाखौं आप्रवासी प्रतीक्षारत छन्, यसको वेटिङ टाइम ८४ वर्ष छ । भनिन्छ करिब ६२ प्रतिशत बालबालिका ग्रिन कार्डबिना नै हुर्की बढी पाका भइसक्छन् ।

अमेरिकामा प्रस्तुत हुन लागेको यो नयाँ बिलका सन्दर्भमा बियरले भनेका छन्- यो स्थायी निवासका लागि एउटा सीधा कानुनी बाटो हो । यसले पाँच वर्षपछि नागरिकताको मार्ग प्रशस्त गर्छ ।

प्रतिक्रिया