बिहीबार, वैशाख १३, २०८१

मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा सुरु

नेपालखोज २०७८ भदौ २९ गते १०:३२


काठमाडाैं । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए ।

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युत्को पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ । धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत् नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अबरुद्ध नहुने प्रमुख शर्माले बताए ।रासस

प्रतिक्रिया