बिहीबार, वैशाख १३, २०८१

राजधानीका सङ्ग्रहालय स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थाले

नेपालखोज २०७८ भदौ २९ गते १५:१२


काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढेसँगै गत वैशाखदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन् । राजधानीका नारायणहिटी दरबार संग्राहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो । सङ्ग्रहालय खुला गरेसँगै अवलोकन गर्नेकाे भीड लागेको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ । बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ । मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले जानकारी दिए । हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ । दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ । दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ ।

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौं महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन । महानगरसँग सम्झौता भएअनुसार तीन करोड ५० लाख रुपैँयाभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए। महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ ।

सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले रु ३०० र नेपालीले रु ३० को टिकट काट्नुपर्छ । महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको रु एक हजार शुल्क विदेशीसँग लिने गरेको छ । –रासस

प्रतिक्रिया