शनिबार, वैशाख ८, २०८१

भारतमा दैनिक संक्रमित संख्या २५ हजारमा झर्‍यो

नेपालखोज २०७८ भदौ २९ गते १६:०८

दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या घटेर झण्डै २५ हजारमा पुगेको छ । सरकारी अधिकारीहरुले मंगलबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक संक्रमितहरुको सङ्ख्यामा लगातार कमी हुँदै आएको देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ संक्रमित थपिएका थिए ।

त्यसैगरी, आइतबार सार्वजनिक गरिएको विवरणमा २८ हजार ५९१ जना र शनिबार ३३ हजार ३७६ जना संक्रमित थपिएको तथ्यांक सार्वजनिक गरिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ३३९ जनाको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये केरला राज्यमा मात्रै ९९ जनाको मृत्यु भएको तथ्यांक छ । केरलामा थप १५ हजार ५८ जना नयाँ संक्रमित थपिएका छन । भारतमा अहिलेसम्म कुल संक्रमितहरुको संख्या तीन करोड ३२ लाख ८७ हजार ५७९ पुगेको छ भने कुल मृतकको संख्या चार लाख ४३ हजार २१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा झण्डै २५ हजार जना नयाँ संक्रमित हुँदा ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । नयाँ संक्रमितभन्दा संक्रणमुक्त भएकहरुको संख्यामा झण्डै १२ हजारले बढी देखिएको छ । दैनिक नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या बढी भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा कमी आएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा अहिले तीन लाख ६२ हजार २०७ जना संक्रमित अवस्थामै रहेका छन् । यो संख्या दैनिक घट्दै गएको छ । भारतमा अघिल्लो दिन तीन लाख ७४ हजार २६९ जना संक्रमित अवस्थामै रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया