नेपालमा सक्रिय संक्रमित संख्या २६ हजारमा झर्‍यो

नेपालखोज २०७८ भदौ २९ गते १६:४९

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित संख्या २६ हजारमा झरेको छ । गत चौबीस घण्टामा थप १ हजार ५८९ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमित संख्या २६ हजार २०२ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुने दर ९५ दशमलव २ प्रतिशत रहेको छ ।

त्यस्तै गत चौबीस घण्टामा थप १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ४४३ नमुनाकोे परीक्षण गरिएको छ ।

जसमा १० हजार २६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८० र ४ हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ गरी कुल १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट ७ लाख ७९ हजार ४९२ र एन्टीजेन विधिबाट ८७ हजार ४१३ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नेपालमा १० हजार ९८४ पुगेको छ ।

प्रतिक्रिया