बिहीबार, वैशाख १३, २०८१

ओमानलाई नेपालको सामान्य लक्ष्य (फोटो फिचर)

नेपालखोज २०७८ भदौ २९ गते २१:४७

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले घरेलु टोली ओमानलाई जितको लागि १९७ रनको लक्ष्य दिएको छ ।

युवा ब्याट्सम्यान आसिफ शेखको अर्धशतकमा नेपालले ओमनलाई जितको लागि १९७ रनको सामान्य लक्ष्य दिएको हो । ओमनको अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४७.४ ओभरमा १९६ रनमा समेटियो ।

नेपालका लागि आसिफले ११२ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफबाहेक अन्य खेलाडीले खासै राम्रो खेल प्रदर्शन गर्न सकेनन् । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेल शून्यमा बाहिरिए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले सात तथा विनोद भण्डारीले छ रन बनाए ।

यस्तै कुशल मल्लले चार, बिक्रम सोबले दुई, करण केसीले २१ रन बनाए भने सुसन भारी दुई रनमा अविजित रहे । नेपालले सात रन अतिरिक्त प्राप्त गरेको थियो । ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा एक मेडनसहित ४७ रन खर्चेर सर्वाधिक चार विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक/एक विकेट लिए ।

लिगमा नेपाल पाँच खेलमा ६ अंक जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

तस्बिर : नेपालखोज

प्रतिक्रिया