आजबाट पहिलो चरणको जनगणना सुरु, पहिलो चरणमा घर/घरपरिवारको सूचीकरण

नेपालखोज २०७८ भदौ ३० गते ११:२४

काठमाडौं । आज (बुधबार)बाट पहिलो चरणको १२औं राष्ट्रिय जनगणना सुरु भएको छ । पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण सुरूवात भएकाे हाे ।

सूचीकरणका लागि देशभर झन्डै ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर – घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने बताइएको छ ।

सूचीकरणमा घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्याको विवरण भरिने छ । निर्धारित कार्यतालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुनेछ ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ । नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो ।

प्रतिक्रिया