ताप्लेजुङमा कोरोना सङ्क्रमण दर घट्दै

नेपालखोज २०७८ भदौ ३० गते १२:०२


ताप्लेजुङ । पछिल्लो समय ताप्लेजुङ जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ ।

हाल जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १०० भन्दा कम रहेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उनको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ ।

यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ । —रासस

प्रतिक्रिया