‘आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आउँदो निर्वाचनबाट माओवादी पहिलो पार्टी हुने बताएका छन् ।
बुधबार (आज) पोस्टबहादुर बोगटीको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले अब आफूहरूले देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने बताए । प्रचण्डले अहिले कसैले नपत्याए पनि माओवादी पहिलो पार्टी हुने जिकिर गरे ।
उनले विगत स्मरण गर्दै भने, ‘हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्,जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई – चार सिट ल्याउँछ भन्थे ।’
उनले पार्टीका नेताहरूमा पद र प्रतिष्ठाप्रति लालच, व्यक्तिगत स्वार्थ, गुट बनाउने प्रवृति विकास हुँदै गएको बताए । प्रचण्डले दुईपटक आफूले सरकारको नेतृत्व गरेको र छोटो समयमै माओवादीबाट १०० भन्दा बढी मन्त्री बनाएको स्मरण गरे ।
उनले भने , ‘हामी मित्रहरुको खोजीमा छौं,यही गठबन्धनलाई अगाडि दुई तिहाईको सरकार बनाउने अवसरबाट हामी टाढा भएका छैनौं ।’
गठबन्धन अगाडि नबढे विकृत प्रणालीलाई बदल्नको लागि सडक आन्दोलनमा अगाडि जाने बताए ।

प्रतिक्रिया