कार्यसम्पादन मूल्याङ्कनका आधारमा देशमै चौंथोमा स्याङ्जा प्रशासन

नेपालखोज २०७८ भदौ ३० गते १३:३१


काठमाडाैं । गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७-७८ का लागि भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको गृह मन्त्रालयबाट मूल्याङ्कन हुँदा स्याङ्जा गण्डकीमा प्रथम र देशैभरमा चौंथो भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

सम्झौता भएका सूचक तथा उपसूचकलाई आधार बनाउँदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वर्षभरिको कार्ययोजना बनाएर कार्यान्वयन गरेसँगै सफलता मिलेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले बताए।

गृह मन्त्रालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, लेखा व्यवस्थापनलगायतका विभिन्न छ वटा सूचक र उपसूचकहरुको अङ्कभारका आधारका मूल्याङ्कन गर्दै आएको छ । चालू आवका लागि पनि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय स्याङ्जाबीच कार्यसम्पादन सम्झौता भइसकेको छ । –रासस

प्रतिक्रिया