शुक्रबार, वैशाख ७, २०८१

तालिबानबाट जोगिँदै पाकिस्तान पुगे अफगानी महिला फुटबलर !

नेपालखोज २०७८ भदौ ३१ गते १७:१०

अफगानिस्तानमा तालिबानी शासन स्थापना भएपछि महिलाहरुले निकै अप्ठ्याराहरुको सामना गर्नुपरिरहेको छ । यस्तै विषम् परिस्थितिबीच अफगानिस्तानको महिला फुटबल टिमका खेलाडीहरु अफगानिस्तान छाडेर भागेका छन् ।

लाहौर (पाकिस्तान) । अफगानिस्तानमा तालिबानी शासन स्थापना भएपछि महिलाहरुले निकै अप्ठ्यारा सामना गर्नुपरिरहेको छ । यस्तै विषम् परिस्थितिबीच अफगानिस्तानको महिला फुटबल टिमका खेलाडीहरुले लुक्दै-छिप्दै अफगानिस्तान छाडेका छन् ।

उनीहरु अहिले तालिबानको नजरबाट जोगिँदै ज्यान जोगाएर परिवारका सदस्यहरुका साथ पाकिस्तान पुगेका हुन् । पाकिस्तान पुगेका अफगानिस्तानका युवा महिला फुटबलरहरुले अब त्यहाँबाट तेस्रो मुलुकमा शरण माग्ने बताइएको छ ।

पाकिस्तान फुटबल महासंघकी एक वरिष्ठ अधिकारी उमर जियाका अनुसार अफगान महिला फुटबल खेलाडीहरु ३० दिनपछि शरणार्थीका रूपमा अन्य मुलुक जानेछन् । केही अन्तर्राष्ट्रिय संगठनहरु ती महिला खेलाडीलाई यूके, यूएस तथा अस्ट्रेलियाजस्ता देशमा पठाउने आवश्यक कार्य गरिरहेका छन् ।

जियाका अनुसार अहिले ती खेलाडीहरु परिवारका साथ लाहौरस्थित गद्दाफी स्टेडियमको फिफा हाउसमा छन् ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपश्चात् कैयन् पूर्व तथा वर्तमान महिला फुटबल खेलाडीले देश छाडिसकेका छन् । तालिबानका एक प्रतिनिधिले हालै मात्र अस्ट्रेलियाई प्रसारण संस्था एसबीएसलाई बताएअनुसार अब अफगानिस्तानमा महिलाहरुलाई क्रिकेट खेल्ने अनुमति दिइने छैन किनभने यो ‘जरूरी छैन’ र यो इस्लामको नीतिविरुद्ध छ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया