शनिबार, वैशाख ८, २०८१

‘माधव नेपाल घरमा आगो लगाएर, खरानी घसेर तीर्थ यात्रामा हिँडेका मान्छे’

नेपालखोज २०७८ भदौ ३१ गते १८:३२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा (एमाले) मै रहन आह्वान गरेका हुन् ।

नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै ओलीले कार्यकर्ताको भविष्यसँग खेलवाड गरेको पनि बताए । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उनले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी पनि गरे । नेता नेपालको भविष्य नभएको भन्दै अध्यक्ष ओलीले भविष्य भएका नेता कार्यकर्तालाई मुल पार्टीमै फर्किन आग्रह गरे ।

उनले भने– ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपाले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिड्या मान्छे । तर माधव नेपालले उहाँको व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईष्र्या भाव, कुण्ठा त्यसबाट ग्रसित भएर अनेका जिन्दगीसँग जुन खेलवाड गर्नुभयो । बहुतै डरलाग्दो कुरा हो । आफ्नो स्वार्थका लागि दुनियाँका जिन्दगीसँग खेलवाड गर्ने ? दुनियाँको कार्यकर्ताको राजनीतिक भविष्य सँग खेलवाड गर्ने ? उहाँ त पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनु भयो । प्रधानमन्त्री भइसक्नु भयो । अब त जाने ठाउँ के छ मास्तिर कता जाने ? उहाँलाई केही मतलव छैन । इगोका लागि उहाँले जे पनि गर्नु हुन्छ तर अरुको त भविष्य छ नि । अरुको भविष्यसँग खेलवाड गर्ने ? देशको भविष्यसँग खेलवाड गर्ने ? तर म कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु, भ्रममा नपर्नुस् अहिले पनि भ्रममा नपर्नुस् ।’

केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताए । उनले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभमा नगर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गए जस्तैगरी बिलाएर जाने टिप्पणी गरेका छन् । उनले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मुल पार्टी आफुहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि उनले आग्रह गरे ।

त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको आरोप लगाएका छन् । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उनले आलोचनासमेत गरे । बजेट ल्याउन नरोकेको भन्दै उनले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गरे ।

साथै ओलीले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी समेत दिएका छन् । आगामी दिनमा एमाले बाजागाजासहित सिंहदरबारको मुल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उनको दाबी छ ।

प्रतिक्रिया