बिहीबार, वैशाख १३, २०८१

आइफोन-१३ लाई टक्कर दिन सामसुङको ग्यालेक्सी एस-२२

नेपालखोज २०७८ असोज १ गते ६:४८

काठमाडौं । एप्पलले आफ्नो आइफोन सिरिजको १३औं संस्करण सार्वजनिक गरेसँगै सामसुङले पनि एउटा ठूलो घोषणा गरेको छ । सामसुङले सन् २०२१ का लागि आफ्नो सबैभन्दा तगडा स्मार्टफोन यो वर्षको अन्त्यसम्ममा लन्च गर्दै छ । सामसुङको यो फोनले आइफोन १३ लाई सिधा टक्कर दिने बताइएको छ ।

एप्पलको आइफोन-१३ सँग प्रतिस्पर्धा गर्न सामसुङले यही डिसेम्बरसम्ममा ग्यालेक्सी एस-२२ सिरिजलाई बजारमा उतारिसक्नेछ । यसमा सामसुङ ग्यालेक्सी एस-२२ अल्ट्रा टप मोडल रहनेछ । जुन सानदार फिचरहरुले सुसज्जित हुने बताइएको छ ।

सामसुङले आफ्नो आगामी प्रिमियम फ्लागसिप ग्यालेक्सी एस-२२ का साथ एस-२२ प्लस पनि लन्च गर्नेछ ।

सामसुङ ग्यालेक्सी एस-२२ अल्ट्राको क्यामेरा दुईवटा जुम लेन्सका साथ एउटा भेरिएबल फोकल लेन्थ थ्री एक्समा र अर्को टेन एक्सका साथ उपलब्ध हुनेछ । यी दुई टेलिफोटो क्यामेरामा सेन्सरको एउटा सानो अपग्रेड देख्न पाइनेछ । यसमा नयाँ मोडलको १.२२ यूएम पिक्सलका साथ दुईवटा १२ एमपीको सेन्सर प्रयोग हुनेछ र दुवै क्यामेरामा अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) रहनेछ । सामसुङ ग्यालेक्सी एस-२२ को क्यामेरामा भने ०.८ यूएम पिक्सल साथ १०८ एमपीको सेन्सर जडान हुनेछ ।

सामसुङको यो सिरिज यही नोभेम्बरमा ठूलो परिमाणको उत्पादनमा जाने बताइएको छ । यो स्मार्टफोन जनवरी २०२२ सम्ममा संसारभरका उपभोक्तामाझ पुर्‍याउने लक्ष्य लिइएको छ । यो शृंखला सबै मोडलका फोन क्वाडकम स्नेपड्रेगन ८९८ चिपसेट द्वारा सञ्चालित हुने बताइएको छ ।

ग्यालेक्सी एस-२२ अल्ट्रामा ग्यालेक्सी एस-२१ को जस्तो दोहोरो १० एमपी टेलिफोटो क्यामेरा सेटअप जारी रहने अनुमान गरिन्छ । त्यसमध्ये एउटा लेन्स पेरिस्कोप लेन्स हुनेछ जसले १० एक्स अप्टिकल जुमको सुविधा दिनेछ । ग्यालेक्सी एस-२२ प्लस ४५०० एमएएचको ब्याट्रीले सुसज्जित हुनेछ । सफ्टवेयरतर्फ ग्यालेक्सी एस-२२ मा एड्रोइड-१२ मा आधारित वानयूआई फोर एक्स इस्टल गरिएको हुनेछ ।

सामसुङको ग्यालेक्सी एस सिरिजअन्तर्गतको पहिलो फोन सन् २०१० मा लन्च भएको थियो । त्यसपछि यो सिरिज निकै लोकप्रिय मानिँदै आएको छ । सन् २०१२ मा आएको ग्यालेक्सी एस थ्री त्यस्तो स्मार्टफोन थियो जसले वर्षको बेस्टसेलर फोन बन्ने सौभाग्य जुटायो । त्यसपछि सामसुङले यो सिरिजअन्तर्गत हरेक साल नयाँ फोन लन्च गर्दै आएको छ र यही परम्परामा यसपटक ग्यालेक्सी एस-२२ आउँदै छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया