पशुपतिका परेवा बाँदरको निशानामा

नेपालखोज २०७८ असोज १ गते १३:४७

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा दैनिक दर्जन बढी परेवा मृत भेटिन्छ । विभिन्न संक्रमण र रोगले भन्दा पनि परेवा बाँदरको सिकार बन्ने गरेको छ ।

परेवालाई चारो खुवाउँने समयमा पनि बाँदरले परेवालाई लखेटेर समाउने र पछार्ने गरेको दृश्य प्रत्यक्ष देखिन्छ । कुनै परेवा बिरामी परेर बसेको भेटे घाँटी बटारेर मार्ने गरेको पशुपतिनाथ मन्दिरको समितिमा रहेर काम गरेका चक्र श्रेष्ठ बताउँछन् । ‘बाँदरले भेट्यो भने घाँटी बटारेर मार्दो रहेछ, सफा गर्ने क्रममा विहान, बेलुका धेरै परेवा मरेका भेटिन्छन्,’ श्रेष्ठले भने ।

उपत्यकाको सम्पदाहरूमा बाँदर र परेवाको वास हुन्छ । बढी मानिस पुग्ने र उनीहरूले फलफूल र चारो दिनेहुँदा सबै त्यहीँ झुम्मिने भएकाले परेवा बाँदरको सिकार बन्ने गर्छ । बाँदर बढी भएको स्थानमा परेवा धेरै मरेको भेटिने गरेको वसन्तपुर दरबार क्षेत्रको सरसफाईमा खटिने इन्दिरा कार्की बताउछिन् । ‘विहान सफा गर्दा परेवा मरेको धेरै भेटिन्छ, बाँदरले झम्टिएर मार्ने गरेको देखेको पनि छु,’ उनले भनिनन् ‘देखेको समयमा बाँदर खेदाउँछु पनि तर कहाँ साधे हुन्छ र ?’

पखेटाको फेदमा कुकुर झिँगा पसेर टोकेर बस्यो भने पनि परेवा उड्न नसकी भुईँमा झर्ने गरेको यसको रेखदेखमा खटिएकाहरू बताउँछन् । ‘भुईँमा छटपटाईरहेको परेवालाई समाएर पखेटामा हेरे कुकुर झिँगा भेटिन्छ, त्यसलाई फालिदिए पुनः परेवा उड्न सक्छ,’ पशुपतिनाथ मन्दिरका श्रेष्ठले भने ।

प्रतिक्रिया