शनिबार, जेठ ५, २०८१

रेल पनि पाँचतारे, यस्ता छन् सुविधा ! (तस्बिरसहित)

नेपालखोज २०७८ असोज १ गते १४:३८

सुविधासम्पन्न यस्ता रेलहरूमा ठूला धनाढ्य, व्यापारी, उद्योगपति, प्रधानमन्त्री, राष्ट्रपतिलगायतको टोलीले सामूहिक यात्रा गर्ने गरेका छन् ।


नयाँदिल्ली । भारतमा यात्रा गर्न सबैभन्दा सस्तो सवारीसाधन रेललाई लिने गरिन्छ । भारतमा सन् १८५३, १६ अप्रिलदेखि यात्रुवाहक रेलको सुरुवात भएको पाइन्छ । भारतमा रेल सेवाको विकास हुँदा ब्रिटिसले शासन गर्ने गर्थे । सन् १८५३ देखि अहिलेसम्म भारतीय रेलवे लिकमा हजारौं रेल कुदाइएका छन् । भारतमा केही यस्ता महँगा रेलहरू छन्, जसमा चढ्दा धेरै आनन्दको महसुस हुने गर्छ । सर्वसाधारणले टिकट काट्नै नसक्ने महँगो रेल सेवा भारतमा छ भने सबैभन्दा गरिबले धेरै सस्तोमा गन्तव्यमा पुग्न सक्ने रेलवे सेवा पनि छ ।

भारतमा यस्तो रेल सेवा पनि छ जसको भाडा लाखौं रुपैयाँ पर्छ । यस्ता महँगा रेलहरूमा ठूला धनाढ्य, व्यापारी, उद्योगपति, प्रधानमन्त्री, राष्ट्रपतिलगायतको टोलीले सामूहिक यात्रा गर्छन् । धेरैले रमाइलोका लागि पनि महँगा भाडादरका रेलहरू चढ्ने गर्छन् ।

‘प्यालेस अन ह्विल्स ट्रेन’ महँगो मूल्य पर्ने रेलको एउटा नाम हो । यो भारतीय रेलवे सेवाको अहिलेसम्मको सुविधा सम्पन्न रेल हो । यो रेल सेवाले सात दिन सात रातको टुर प्याकेज दिने गर्छ । यसभित्र बियर बारदेखि स्पासम्मको सुविधा छ । यस रेल सेवाको वेबसाइटअनुसार सिंगल अकुपेन्सीका लागि तीन लाख रुपैयाँ भाडा तिर्नुपर्छ ।

No description available.

यस्तै डबल अकुपेन्सीका लागि दुई लाख २५ हजार र सुपर डिलक्सका लागि नौ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यसमा डबल एसी कोच, इंग्लिस स्पिकिङ गाइड, क्याटरिङ, विभिन्न ठाउँमा रेल रोकेर घुम्न जाने रिक्सा तथा ट्याक्सीको सुविधा, उँट र हात्ती चढी रमाइलो गर्ने, नदीमा तथा पोखरीमा बोटिङ गर्नेसम्मको सुविधा छ ।

यस्तै अर्को सुविधा प्रदान गर्ने महँगो रेल ‘रोयल राजस्थान’ हो । सन् २००८ देखि यसले यात्रु सेवा दिन थालेको हो । यसमा १४ वटा सुविधा–सम्पन्न डिब्बा छन् भने सुविधा फाइभ स्टार होटेलको जस्तै छ । यसभित्र सैलुन, बियर बार, स्विमिङ पुल, निःशुल्क इन्टरनेट सेवा, टीभीलगायतको सुविधा छ । यसको भाडा एकदिन–एक रातको एक लाख २५ हजार भारतीय रुपैयाँ छ ।

No description available.

महँगो पर्ने अर्को रेल सेवा ‘महाराजा एक्सप्रेस’ हो । यस रेल सेवाको सुरुवात सन् २०१० मा भएको थियो । यो फुल एसी रेल हो । यसभित्र विभिन्न किसिमका आधुनिक सुख–सुविधा उपलब्ध छन् । यसमा पनि फाइभ स्टार होटेलको जस्तै सुविधाहरू छन् । यस रेलमा ७३ डिब्बा छन् र एक डिब्बामा ७८ मानिस यात्रा गर्न सक्छन् । यस ट्रेनको सबैभन्दा सस्तो टिकट एक लाख ९० हजार रुपैयाँ छ । सुविधाअनुसार सबैभन्दा महँगो दरको टिकट १७ लाख भारतीय रुपैयाँसम्मको छ । यसको सञ्चालन भारतीय रेल क्याट्रिन र पर्यटन कर्पोरेसनले गरेको हो ।

अर्को सुविधा सम्पन्न रेल गोल्डेन च्यारियट हो । यो पुरस्कार विजेता सुविधा सम्पन्न रेल पनि हो । धेरै आकर्षित यो रेलभित्र हिन्दु संस्कृतिअनुसारको डिजाइन छ । भित्र विभिन्न कलाकृति तथा मूर्तिहरू देख्न सकिन्छ । यसभित्र पस्दा ठूलो स्टार होटेलका सुविधा देख्दा जो कोही आश्चर्यमा पर्ने गर्छन् । यस रेलमा ४४ डिब्बा छन् भने डिब्बाभित्र सुनको जलप लगाएर बनाइएका कोठाहरू छन् । यस ट्रेनभित्र दुईवटा फाइभ स्टार रेस्टुरेन्टको सुविधा, बियर बार, जिम, स्पा, हेयर सैलुनलगायत सानातिना पनि धेरै सुविधा छन् । यस रेलमा एक रात यात्रा गर्न भारतीय नागरिकका लागि एक लाख ५० हजार भारतीय रुपैयाँ र अरू देशका नागरिकका लागि दुई लाख ५० हजार रुपैयाँ भाडा बुझाउनुपर्छ ।

Railways' luxury train Maharaja Express offering 50% discount on ticket;  here's how to get it

अर्को सबैभन्दा महँगो रेल ‘डेकेन ओडीसी’ हो । यो एक सुपर डिलक्स लक्जरी रेल हो । यो महाराष्ट्र टुरिजम डेभलपमेन्ट कर्पोरेसन र भारत सरकार रेल मन्त्रालयको साझेदारीमा सञ्चालित छ । कुल २१ डिब्बा भएको यस रेलमा स्पा, लक्जरी बार र ठूलो सभाहल पनि छ । धेरै आकर्षित यस रेलभित्र इन्टरनेटको सुविधा पनि छ । यस रेलमा यात्रा गर्नका लागि ६ लाखदेखि आठ लाख भारतीय रुपैयाँ बुझाउनुपर्छ ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया