ज्ञवालीको चुनौती – एमालेको सहयोगबिना संसदबाट एमसीसी पास गरेर देखाऊ

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले आफुहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठिमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् ।
विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै उनले सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे । उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे ।
नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउन नहुने बताएका छन् । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनियतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चिनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए ।
उनले भने– ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सिमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालीसक्नु भो उहाँहरुले । यो नियमित अनुगमन त होईन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’ नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया