शुक्रबार, चैत १६, २०८०

प्रदेश १ : पुनः मुख्यमन्त्री परिवर्तनको खेल सुरु, तीन आकांक्षी

नेपालखोज २०७८ असोज २ गते ११:०२

विराटनगर । प्रदेश १ मा पुनः मुख्यमन्त्री परिवर्तनको खेल सुरु भएको छ । आउँदो साता मुख्यमन्त्री भीमप्रसाद आचार्यका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा विपक्षी गठबन्धन लागेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ गते प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन आह्वान गरिसकेका छन् । मुख्यमन्त्री आचार्यले प्रदेशसभाको पहिलो बैठकमा नै विश्वासको मत प्राप्त गर्न प्रस्ताव राख्ने तयारी गरेका हुन् ।

यता विपक्षी गठबन्धनले भने असोज ७ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया सुरु नगरे प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न र गठबन्धनलाई मुख्यमन्त्रीलाई विफल गर्न दुवैलाई घटीमा ४६ सांसद आवश्यक हुन्छ ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १÷१ जना प्रदेश सांसद छन् ।

यता अविश्वासको प्रस्ताव दर्ता गराउँदा प्रस्तावित मुख्यमन्त्रीमा कसको नाम राख्ने भन्ने विषयमा भने टुंगो नलागेको विपक्षी गठबन्धनका नेता बताउँछन्  । कांग्रेसका नेता राजीव कोइराला, माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्रीका आकांक्षी देखिए पनि कसैको विषयमा निर्णय भएको छैन ।

तीनै जना मुख्यमन्त्री पाउन आ–आफ्नै कसरतमा भने लागेका छन् । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले हाल सम्म कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा निर्णय नभएको तर, छलफल भने जारी रहेको बताए ।

प्रतिक्रिया