मंगलबार, मंसिर २५, २०८१

दिपायल विमानस्थल पुन: सञ्चालनमा

नेपालखोज २०७८ असोज २ गते १३:००

डोटी । कोरोनाका कारण बन्द रहेको दिपायल बिमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ । जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा पुरानो विमानस्थल पुनः सञ्चालन भएकामा यहाँका नागरिक खुशी छन् ।

दिपायलदेखि धनगढी बिमानस्थलसम्म हप्तामा एक दिन जहाज सञ्चालन हुने नागरिक उड्यन तथा प्राधिकरणको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शनिबार उडान भर्ने कार्यतालिका तयार गरिएको र निजी क्षेत्रको बिमान कम्पनी समिट एयरले पनि उडान भर्ने धनगढी बिमानस्थल प्रमुख तेजबहादुर बुढथापाले बताए ।

जिल्लाबाट निर्वाचित सांसद प्रेमबहादुर आलेको पहलमा नेपाल सरकारले बिमानस्थल कालोपत्र गरिएको थियो । बन्द भएको बिमानस्थल पुनः सञ्चालन भएकाले स्थानीयबासी निकै खुशी भएका पिपल्लका व्यापारी चन्द्रु पाठकले बताए ।

उनले भने, ‘कोरोनाले गर्दा जहाज सञ्चालन बन्द गरिएको थियो, फेरी सञ्चालन भयो, यसले गर्दा यहाँको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने छ ।’

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा निर्माण गर्ने सहमति भएसँगै यहाँका क्षेत्रीय कार्यालय कैलाली सारिएपछि निरास भएका स्थानीयवासी अहिले क्रमिकरुपमा विमानस्थलदेखि अन्य विकासका योजना सञ्चालन हुन थालेकाले खुशी भएका हुन् ।

विमानस्थलमा नियमित जहाज सञ्चालन भए यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सकिने र यहाँको आयस्रोत बढ्ने चेम्वर अफ कमर्सका जिल्लाअध्यक्ष खगेन्द्रबहादुर साउदले बताए ।

उनले भने, ‘दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुनेछ, पर्यटक भित्रिए यहाँको विकास हुने निश्चित छ ।’

नियमित जहाज सञ्चालन भए यहाँको प्रमुख पर्यटकीय स्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडिकेदारलगायत क्षेत्रमा पर्यटक ओइरिने उद्योग बाणिज्य सङ्घका जिल्लाअध्यक्ष मोहनबहादुर कलेलले बताए ।

उनले भने, ‘सुदूरपश्चिमका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेका ठाउँहरु हुन्, नियमित जहाज सञ्चालन भए यहाँको पर्यटन उद्योग फष्टाउने छ ।’

बिमान सञ्चालन भएसँगै विमानस्थलमा रहेका टर्मिनल भवन तथा एटिसी भवन पुनः निर्माण गर्न माग गरिएको छ । यो विमानस्थलको धावनमार्ग करिब ४९० मिटर लामो भएकाले एकहजार मिटर बनाउनका लागि स्थानीयवासीले माग गर्दै आएका छन् । रासस

प्रतिक्रिया