‘कर्मचारीले म भ्रष्टाचारी होइन भन्न सक्नु पर्छ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निष्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी संगठनको आज काठमाडौंमा आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निष्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताए ।
उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घुस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए। उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नसक्नुपर्ने धारणा राखे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए। उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे ।
एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताए । उनले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया