पार्टी विभाजन भएर जानेहरु चाँडै समाप्त हुन्छन् : पोखरेल

नेपालखोज २०७८ असोज २ गते १७:०६

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको आज काठमाडौंमा आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेहरु चाँडै नै समाप्त हुने बताए । उनले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नु पर्ने बताए । उनले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डोर्‍याउनु भएको बताए । उनले भने, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”

नेता थापाले भ्रष्टाचार उन्मूलन नभईकन मुलुक समृद्धि हुन नसक्ने भन्दै कर्मचारीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे। भेलामा निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनबीच एकीकरणसमेत भएको छ । संगठनका अध्यक्ष केदार देवकोटाले २७५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको जानकारी दिए।

संगठनले निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा निर्वाचित पदाधिकारीलाई फिर्ता बनाउने निर्णयसमेत गरेको छ । ती पदाधिकारिलाई फिर्ता बोलाई केदारप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी पठाउने निर्णय गरेको संगठनका महासचिव रेवन्त गौतमले जानकारी दिए ।

प्रतिक्रिया