असोज पहिलो साता सरकार विस्तार हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए ।
उनले सरकार विस्तार बाहिर हल्ला भए जस्तो जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको बताए । प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भन्दा महत्त्वपूर्ण पाँचदलीय गठबन्धन रहेको उल्लेख गर्दै आफूहरूका लागि एमसीसीभन्दा गठबन्धन नै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसीसीका कारण गठबन्धन फुट्दैन ।’
उनले आफूहरू एमसीसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससीसी पास गर्नुपर्नेमा जोड दिए । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसीसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको प्रचण्डको भनाइ थियो । उनले एमसीसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताए ।

प्रतिक्रिया