‘नागरिकका आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा हो’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानद्वारा प्रत्याभूत नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगीन अभिभारा भएको बताएकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्न आवश्यक भएको उल्लेख गरेकी छन् ।
नेपाली जनताको बलिदानपूर्ण सङ्घर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकामा सम्मान र त्यस दिनको स्मरणस्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ भन्दै उनले देशभित्र तथा बाहिर रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान गर्ने सहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्ने अग्रजप्रति सम्मान प्रकट गरेकी छन् ।
लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका तथा नयाँ संविधान जारी भएयताका वर्षमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुगेको राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन् ।
नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ ।
उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल, जमिन र जङ्गलजस्ता प्राकृतिक स्रोत र साधनको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि, कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नोतर्फबाट इमान्दार प्रयास जारी राख्न उनले सबैमा आह्वान पनि गरेकी छन् ।

प्रतिक्रिया