संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ : सिंह

नेपालखोज २०७८ असोज ३ गते ८:४०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीयता, समावेशीता धर्मनिपरेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको जनाएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै नेता सिंहले यस्तो बताएका हुन् ।

‘संघीयता, समावेशीता धर्मनिपरेक्षता जस्ता परिवर्तनका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी बनेको संविधानले वास्तविक परिवर्तनको अनुभूति गराएको छ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सफल कार्यान्वयन गर्नुको अर्को विकल्प छैन ।’

उनले संविधानको सफल कार्यान्वयनमार्फत देशलाई स्थायित्व र समृद्धिको बाटोमा लैजान नेपालका कम्युनिस्ट पार्टीहरूले सक्दैनन् भन्ने विगतले देखाइसकेको पनि बताएका छन् ।

देशलाई स्थायित्व र समृद्धिको मार्गमा लैजान नेपाली कांग्रेसले मात्रै सक्ने भन्दै उनले त्यसका लागि सक्षम र सुदृढ कांग्रेस बनाउनुपर्ने बताए । ‘दृढ इच्छाशक्ति र दृष्टिकोणसहितको नेतृत्व कांग्रेसलाई आवश्यक छ,’ उनले भनेका छन् । साथै नेता सिंहले इन्द्रजात्राका अवसरमासमेत सबै नेपालीमा शुभकामना दिएका छन् ।

०७२ असोज ३ गते अर्थात् आजकै दिन कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएको थियो । सोही ऐतिहासिक दिनको सम्झनामा आज देशैभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया