जनगणना गर्न फोन र इन्टरनेटको समस्या

नेपालखोज २०७८ असोज ३ गते १०:१५


काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ संकलित विवरण अद्यावधिक गर्न कठिन भएको छ ।

घरमुली सूचीकरणका लागि जिल्लाभरि ९६ सुपरीवेक्षक परिचालन गरिएको छ । स्थानीय वडास्तरबाटै छनोट भएका सुपरीवेक्षक भए पनि बाढीपहिरो र असजिलो सडकले समस्या रहेको जिल्ला तथ्याङ्क (जनगणना) कार्यालयका प्रमुख मुकुन्द शर्माले जानकारी दिए । गत भदौ ३० देखि सुरुआत भएको सूचीकरणको काम यही असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

घर, परिवार लगायतको तथ्याङ्क तयार गरेर पूर्ण विवरणका लागि तयारी भए पनि सङ्कलित विवरण अध्यावधि गर्न सुपरीवेक्षकलाई टेलिफोन र इन्टरनेट अनियमित हुँदा समस्या भएको उनले बताए ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलन र अध्यावधिक गर्न समस्या भएको हो ।

जिल्लामा रहेका नेपाल टेलिकममा कतिपय बिटिएस टावरमा जडान भएको सौर्यऊर्जा सञ्चित हुन नपाउँदा बेलाबेलामा समस्या हुने गरेको छ भने कतिपय विद्युत् पुगेका टावरमा समेत विद्युत्मा आउने समस्याका कारणले पनि बेलाबेलामा समस्या आउने गरेको टेलिकमले जनाएको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या दुई लाख ६८ हजार ६१३ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्कका आधारमा मूल गणना गरिनेछ । मूल गणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक १०-१० वर्षमा जनगणना गरिन्छ । रासस

प्रतिक्रिया