झापामा कारागारको नयाँ भवन उद्घाटन
झापा । झापामा कारागारको नयाँ भवन उद्घाटन भएको छ । आइतबार संविधान दिवसको अवसर पार्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भवनको उद्घाटन गरेका हुन् ।
प्रशासनिक भवन निर्माणका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरमा ६४ लाख लागतमा दुई तल्ले भवन निर्माण गरिएको छ ।
भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर भवनको शिलान्यास गरेका थिए ।
भद्रपुर नगरपालिका–८ मा पाँच दशक अघि बनाइएको झापा कारागारको पुरानो भवनमा २५० कैदीबन्दी अट्ने क्षमता छ । जीर्ण र पानी चुहिने अवस्थाको पुरानो भवनमा हाल एक हजार २०० कैदीबन्दी कष्टपूर्वक बस्दै आएका छन् ।
कारागारका प्रमुख (जेलर) राजेन्द्र गौतमले नयाँ भवनमा ३ सय ५० जना कैदीबन्दीलाई राख्न सकिने बताए ।
प्रतिक्रिया