शुक्रबार, चैत १६, २०८०

उप-प्रधानमन्त्री मुल्ला बरादरमाथि लात र मुक्का !

नेपालखोज २०७८ असोज ३ गते १४:४१

काबुल । मुल्ला अब्दुल गनी बरादर ती अफगानीहरुमध्ये एक हुन् जसले तालिबानको गठन गरे । बरादर तालिबानको हरेक अहम् लडाइँको मोर्चामा महत्त्वपूर्ण भूमिकामा हुन्थे । आज तिनै बरादरमाथि काबुलस्थित राष्ट्रपति भवनमा लात र मुक्का प्रहार भएको खबर छ । तालिबानी सरकारमा हक्कानी गुटको वर्चस्व बढेपछि उक्त गुटका एक कमान्डरले बरादरमाथि हमला गरेको बताइन्छ ।

गएको साता बरादरको मृत्युको खबर पनि आएको थियो तर पछि बरादरले भिडियो जारी गर्दै त्यसको खण्डन गरे । अहिले अमेरिकी सञ्चारमाध्यममा काबुलस्थित अफगानी राष्ट्रपति भवनमा बरादरमाथि दुर्व्यवहार हुनुका साथै त्यहाँ गोलीसमेत चलेको खबर प्रसारण भइरहेको छ ।

मुल्ला अब्दुल गनी बरादर तालिबानको प्रमुख हस्ती हुन् । अमेरिकासँगको कुराकानी र सम्झौतामा उनी नै संलग्न थिए । अफगानिस्तान छाडेर फर्किएका अमेरिका र उसका सहयोगी देशहरुलाई लागेको थियो मुल्ला अब्दुल गनी बरादर अफगानिस्तान तालिबान सरकारको प्रमुख अनुहार हुनेछन् र तालिबानी क्याबिनेटमा गैर-तालिबानी नेता र जातीय अल्पसंख्यकहरुलाई पनि समेटिनेछ । अंग्रेजी अखबार ब्लुमबर्गको एक रिपोर्टअनुसार बरादर तालिबानमा केही नरम नेता हुन् ।

जब अन्तरिम सरकार बन्यो तब बरादरलाई उप-प्रधानमन्त्री पदमा सीमित गरियो किनभने उनी अमेरिकाको दबाबमा पर्न सक्ने र भविष्यमा त्यो तालिबान सरकारलाई हानिकारक हुने केहीको तर्क थियो । यस्तो तर्क गर्नेमा पाकिस्तान समर्थित हक्कानी गुटका नेताहरु थिए जसले अन्तरिम सरकारमा गृह मन्त्रालयसहित चारवटा महत्त्वपूर्ण मन्त्रालय आफ्नो हातमा लिए । सिराजुद्दिन हक्कानी, जो आतंकवादको आरोपमा एफबीआईको मोस्ट वान्टेड हुन उनी अहिले कार्यवाहक गृहमन्त्री बनाइएका छन् ।

तालिबानभित्रै आन्तरिक फुटको समाचारबीच, सेप्टेम्बरको सुरुमा राष्ट्रपति भवनमा मन्त्रीमण्डलका विषयमा अहम् बैठक भइरहेको थियो । भनिन्छ उक्त बैठकमा बरादरले बारम्बार गैर-तालिबान नेता र जातीय अल्पसंख्यकलाई पनि सरकारमा सामेल गर्नुपर्नेमा जोड दिएका थिए । अन्तर्राष्ट्रिय मान्यताका लागि पनि सरकार समावेशी हुनुपर्ने उनको तर्क थियो । यता हक्कानी गुटलाई बरादरको कुरा ठीक लागेन । बहसकै बीच अचानक हक्कानी नेता खलिल उल रहमान हक्कानी आफ्नो कुर्सीबाट उठे र बरादरमाथि हातपातमा ओर्लिए अमेरिकी मिडियाका अनुसार यी दुई नेताका सुरक्षा गार्डले पनि एक-अर्कामाथि गोली चलाए । जसमा परेर केही व्यक्ति सख्त घाइते भए । त्यसपछि मुल्ला बरादर बैठकलाई बीचमै छोडेर तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादासँग कुराकानी गर्न काबुलबाट कन्दहार पुगे । गएको साता बरादर घाइते भएको खबर पनि आएको थियो जसको बरादरले खण्डन गरे ।

मुल्ला बरादर जो केही समय अघिसम्म तालिबानको प्रमुख सार्वजनिक अनुहार थिए । भनिन्छ राष्ट्रपित भवनमा भएको घटनापछि उनलाई साइड लगाइ सकिएको छ । अहिले के देखिन्छ भने अफगानिस्तानको विवाद र सत्ता संघर्ष यत्तिकैमा शान्त हुने छैन । बरादरलाई साइड लगाइएपछि पश्चिमी देश पनि अप्ठ्यारोमा परेका छन् किनभने शान्तिप्रक्रियामा उनीहरुले बरादरसँगै काम गरेका थिए ।

पाकिस्तान समर्थित हक्कानी गुट अफगानिस्तान सरकारमा निकै मजबुत स्थितिमा पुगेपछि तालिबानको समेत समस्या बढ्ने अनुमान लगाइँदै छ ।

प्रतिक्रिया