बुधबार, वैशाख १२, २०८१

राजनीतिमा स्वतः नयाँ पुस्ताको नेतृत्व’

नेपालखोज २०७८ असोज ३ गते १७:०६


झापा । नेपाली कांग्रेसका नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउनुपर्ने बताएका छन् ।

गृहनगर झापाको बिर्तामोडबाट पार्टीको १४औं महाधिवेशनको चुनावी अभियान आरम्भ गर्दै उनले यस्तो बताएका हुन् । अभियानसँगै आज (आइतबार) उनले २४ बुँदे अवधारणासमेत सार्वजनिक गरेका छन् । ‘यो अवधारणा लागु भए नयाँ पुस्ताले राजनीतिमा नेतृत्व गर्ने अवसर स्वतः पाउनेछ,’ कांग्रेस नेता शर्माले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

अवधारणा सुनाउँदै आफूले इमानदारीपूर्वक राजनीतिमा परिवर्तन ल्याउन चाहेको उनले प्रस्ट्याएका छन् । ‘हामीसहित अग्रज पुस्ताले बलिदान दिएर मुलुकमा राजनीतिक परिवर्तन ल्यायो,’ कांग्रेसको विचार प्रचार अभियान संयोजन समितिले बिर्तामोडमा रहेको अग्रसेन भवनमा गरेको अवधारणा सार्वजनिक कार्यक्रममा उनले भने, ‘त्यतिले मात्र पुगेन, अब राजनीतिमा परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्न मैले महामन्त्रीमा उम्मेद्वारी दिएको हुँ ।’

शर्माले अवधारणामा मुलुकको समृद्धिको खाका, परराष्ट्र नीति, निर्वाचन प्रणाली, संविधानका त्रुटिको सम्बोधन, शासकीय हैसियतमा जानेको कार्यविधिलगायत विषयमा विभिन्न प्रस्ताव गरेका छन् ।उनले मुलुकको राष्ट्रपति पदमा एकपटक, प्रधानमन्त्री पदमा दुईपटक र विधायकमा चार पटक मात्र निर्वाचित हुन पाउने संवैधानिक व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् ।

सात सालदेखि अहिलेसम्म मुलुकमा ठूला राजनीतिक क्रान्ति गर्न नेपालका राजनीतिक दल सक्षम बनेको उल्लेख गर्दै उनले नेता र दलहरूको आचरण र व्यवहारमा लोकतान्त्रिक परिवर्तन आएको अनुभूति आमनागरिकले गर्न नपाएको गुनासो गरे ।

सत्तामा जुन दल गए पनि देश सबैको साझा भएको हुँदा मुलुकको राजनीति असल संस्कारयुक्त हुनुपर्नेमा उनले जोड दिएका छन् । मुलुकको रूपान्तरण गर्न राम्रो नीति भएको राजनीतिक दल चाहिएजस्तै कांग्रेसभित्र पनि सङ्लो र दूरदर्शी भावना बोकेको नेतृत्व आवश्यक भएको नेता शर्माले बताए ।

प्रतिक्रिया