शुक्रबार, वैशाख ७, २०८१

ओमानमाथि नेपालको सानदार जित

नेपालखोज २०७८ असोज ३ गते २१:५०

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो।

यससँगै नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको छ । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

लगातार दोस्रो अर्धशतक बनाउने क्रममा मल्लले ४६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले यस अघि अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए । मल्लले दोस्रो विकेटका लागि आसिफ शेखसँग ९५ रनको कीर्तिमानी साझेदारी गरे । नेपालको एकदिवसीय अन्तराष्ट्रियमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो ।

ओपनर आसिफले ४० रन बनाए । शरद भेषवाकर १ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६र६ रनमा आउट भए । ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए । सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो । यस जितपछि नेपालले ओमानविरुद्ध अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

प्रतिक्रिया