जग्गा बेचेर ऋण तिर्न बाध्य इँटा व्यवसायी

काठमाडौं । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् ।चितवन जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए ।
जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार-पाँच उद्योगले मात्र सञ्चालन गर्ने तयारी गरेका छन् ।
अन्य उद्योग सधैँका लागि बन्द हुने अवस्थामा पुगेको बताइएको छ । महामारीका कारण एउटा उद्योगले रु दुई करोड हाराहारी नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ ।
कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए । यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएको उनले गुनासो गरे ।
खैरहनीमा रहेको खनाल इँटा उद्योगका सञ्चालक ईश्वरी पण्डित उद्योग सञ्चालन गर्न नसक्ने भए पछि उद्योगको नामको जग्गानै बेचेर ऋण तिर्न लागेको जानकारी दिए ।
यहाँको इँटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दथ्यो । राप्तीको लालपुरको मनकामना र खैरहनीको चैनपुरको न्यू सङ्गम इँटा उद्योग गत वर्ष चलेका थिए ।
स्थानीयको प्रदूषणको गुनासो, माटोको अभाव र महँगो, कोइलाको अश्वभाविक मूल्यवृद्धि, मजदुरको अभावलगायतका कारण उद्योगी पुनः उद्योग सञ्चालन गर्ने मनस्थितिमा छैनन् ।
जिल्लाका उद्योगमा एक वर्षमा आठ हजारले रोजगार पाउने गरेको सङ्घले जनाएको छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले एउटा उद्योग सञ्चालन गर्न रु तीन करोडभन्दा बढी लगानी हुने जानकारी दिए ।
नेपालमा एक हजार ३०० इँटा उद्योग रहेका छन् । तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।–रासस

प्रतिक्रिया