आइतबार, असार १५, २०८२

बेलायतका राजकुमारमाथि यौन उत्पीडनको मुद्दा

नेपालखोज २०७८ असोज ४ गते १५:२८

न्युयोर्क । ब्रिटेनको राज परिवार एकपटक फेरि चर्चा र विवादमा छ । महारानी एलिजाबेथका माइला छोरा प्रिन्स एड्रयुमाथि अमेरिकामा यौन उत्पीडनको मुद्दा परेको छ ।

न्युयोर्कको अदालतमा एक महिलाले उजुरी दर्ता गराउँदै १८ वर्ष नपुग्दै प्रिन्स एन्ड्रयुले आफूविरुद्ध यौन उत्पीडन गरेको आरोप लगाएकी छन् । यो गम्भीर आरोपपछि प्रिन्सले गलत आरोपविरुद्ध लड्ने तयारी गरेका छन् । न्‍युयोर्कको अदालतमा दायर मुद्दामा प्रिन्स एन्ड्रयुका तर्फबाट वकिल ब्रेटलरले पैरवी गर्नेछन् ।

महिलाले सुनाइन् आफ्नो कथा
राजकुमारविरुद्ध आरोप लगाउने महिला भर्जिनिया रोबर्ट्स जुफ्रे हुन् । जसको दाबी के छ भने जब उनी नाबालिग थिइन् तब अमेरिकी नागरिक जेफ्री एपस्टिनले उनलाई प्रिन्स कहाँ पठाएका थिए । जेफ्रीले सन् २०१९ मा न्‍युयोर्कको एक जेलमा आत्महत्या गरेका थिए । त्यतिबेला उनीमाथि लागेको यौन उत्‍पीडन र सेक्‍स ट्राफिकिङको आरोपको ट्रायल सुरु हुन लागेको थियो ।

जुफ्रेका अनुसार प्रिन्स एन्ड्रयुले २० वर्षपहिले लन्डनकी सोसलाइट गिजलेन म्याक्‍सवेलको घरमा उनको शारीरिक शोषण गरेका थिए । त्यतिबेला जुफ्रेको उमेर १७ वर्ष मात्र थियो । जुफ्रेका अनुसार एन्ड्रयुले एपस्टिनको न्‍युयोर्कस्थित घर र लिटिल सेन्ट जेम्‍समा पनि उनको यौनशोषण गरेका थिए । लिटिल सेन्ट जेम्‍स एपस्टिनको निजी आइल्यान्ड थियो जुन भर्जिन द्वीपमा छ ।

आरोप असत्य : एन्ड्रयु
६१ वर्षीय राजकुमार एन्ड्रयुले ती सबै आरोपको प्रतिवाद गरेका छन् । उनका अनुसार उनले जुफ्रेसँग कहिल्यै सम्बन्ध राखेनन् । न उनलाई जुफ्रेसँग भएको कुनै भेटकै सम्झना छ । जुफ्रेले एन्ड्रयुमाथि चाइल्‍ड भिक्टिम एक्‍टअन्तर्गत मुद्दा दर्ता गराएकी छन् ।

को हुन् प्रिन्स एन्ड्रयु ?
श्रीमतीसँग प्रिन्स एन्ड्रयुको पारपाचुके भइसकेको छ । उनी दुई सन्तानका पिता हुन् । एन्ड्रयु रोयल नेवीमा हेलिकोप्‍टर पाइलट थिए । उनले सन् १९८२ मा अर्जेन्टनाविरुद्ध भएको फकल्यान्ड युद्धमा गोर्खालीहरुसँगै सहभागिता जनाएका थिए । जसमा गोर्खालीहरुले देखाएको वीरताको कथा संसारभर प्रसिद्ध छ । सन् २०१९ मा राजकुमार एन्ड्रयुले शाही जिम्मेवारीबाट अवकाश लिए ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया