‘प्रदेश १ र वाग्मती प्रदेशमा छिट्टै हाम्राे नेतृत्वकाे सरकार बन्छ’

नेपालखोज २०७८ असोज ४ गते १७:४६

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश नं. १ र वाग्मती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताएका हुन् ।

उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवादसमेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे ।

उनले भने, ‘एक र तीन नम्बर प्रदेश (वाग्मती)मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु ।’

अध्यक्ष नेपालले एमालेबाट आफुहरु चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍याे भन्ने प्रश्नसमेत गरे ।

पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्ने पनि उनले प्रश्न गरे । उनले भने, ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍याे हाइसञ्चो भएको मान्छेले ? कति छन्, ९ प्रतिशत छन्, २ प्रतिशत छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’

उनले सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणीसमेत गरे ।

प्रतिक्रिया