धुलिखेल ११ मा ओझा, बनेपा ११ मा श्रेष्ठ र १२ मा वाग्ले सर्वसम्मत
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काभ्रेका तीन वडा सभापति सर्वसम्मत चयन भएका छन्।
चयन हुनेमा धुलिखेल नगरपालिका–११ वडा सभापतिमा नारायणप्रसाद ओझा, बनेपा नपा–११ मा राजु श्रेष्ठ र १२ नम्बर वडामा प्रेम शर्मा वाग्ले छन् ।
पार्टीका जिल्ला प्रवक्ता महेश पौडेलले केही वडामा सर्वसम्मतको प्रयास भइरहेको र केही वडामा सर्वसम्मत चयन भई निर्णय गर्ने चरणमा रहेको जानकारी दिए ।
आज (मंगलबार)काभ्रेसहित सात जिल्लामा वडा अधिवेशन जारी छ । पार्टीको केन्द्रीय कार्यालय अनुसार यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता सदस्यता विवरण प्राप्त भएपछि वडा अधिवेशनको समय तालिका निर्धारण गरिनेछ ।
वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने समितिले जनाएको छ । समितिका अनुसार वडा निर्वाचनमा वडासभापति सहित २२ को वडा कार्यसमिति चयन गर्ने छ ।
साथै, वडा निर्वाचनमा वडामा रहेका क्रियाशील सदस्य सङ्ख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जनाइएकोे छ । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।
पार्टीको निर्वाचन कार्यतालिका अनुसार यही असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ-नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ ।
यस्तै, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर नौदेखि १३ गतेसम्म तय गरिएको छ । –रासस
प्रतिक्रिया