आणविक अस्त्र निषेध सन्धि अनुमोदन नगरेकोमा शान्तिवादी आक्रोशित
काठमाडाैं । आणविक अस्त्रको विकास, परिक्षण, उत्पादनरनिर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई नेपालले २० सेप्टेम्बर २०१७ मै हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन नगरेकोमा शान्तिवादीहरुले आक्रोश व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शिघ्र अनुमोदनको मागसहित काठमाडाैंको माइतिघर मण्डलामा २०७८ असोज ५ गते मंगलबार प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको वताएका थिए । प्रदर्शनमा विश्व शान्ति र मानव सभ्यताका लागि आणविक अस्त्र सबैभन्दा ठुलो खतरा भएको भन्दै आणविक अस्त्रधारी राष्ट्रहरु अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरियालाई आणविक अस्त्र निषेध सन्धि तत्काल अनुमोदन गर्न आग्रह गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, केन्द्रीय सचिवद्वय नम्रता खरेल र रामप्रसाद जोशी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल, दुर्गा राना, उमा गौतम, पूर्व सचिव बलबहादुर गाहा मगरसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।
यसैगरी शान्ति दिवसको अवसरमा असोज ५ गते आणविक अस्त्र निषेध सन्धि अनुमोदनको माग गर्दै शान्ति समाजका चितवन, रुपन्देही, नवलपुर, महोत्तरी, बाँके, तेह्रथुम, अर्घाखाँची लगायत दर्जन बढी शाखाहरुले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया