नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : राजनीतिक प्रतिवेदन पेस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । त्यस्तै आजको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उनले जानकारी दिए ।
उनले भने– ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौँ ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ । यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँचवटा समुहमा समुह छलफलका लागि सूची तयार पारेका छौँ र भोलि बिहान १० बजेसम्मका लागि समय निश्चित गरेका छौँ ।’
पार्टीको बैठक भोलि (बुधवार) पनि बस्ने उनले जानकारी दिए । भोलिको बैठकले समसामयिक प्रस्ताव पारित गर्ने, कार्यविभाजन गर्ने उनको भनाई छ । आवधिक कार्ययोजना बनाइ तिन महिने अभियान चलाएर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गरिने योजना रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया