मासु पसललाई गुणस्तरमा ध्यान दिन उपभोक्ता विभागकाे आग्रह

नेपालखोज २०७८ असोज ६ गते १२:२८


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँका लागि मासुको गुणस्तर र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ । काठमाडौं उपत्यकाका मासु व्यवसायीसँग विभागले छलफल गर्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको हो ।

छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्दै आग्रह गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।

उनका अनुसार विभागले गरेको आग्रहमा मासु व्यवसायी सहमत भएर फूलपातीको दिनबाट खसीको मासुको मूल्य तोक्ने जनाएका थिए ।

यस्तै, कुखुराका मासु व्यवसायीले दसैंमा तीन सय रूपैयाँ भन्दा बढी मूल्य नबढाउने जनाएका थिए । राष्ट्रिय मासु व्यवसायी सङ्घका अध्यक्ष रमेश खड्कीले विभागमा भएको छलफलका आधारमा मासुको मूल्य तोक्ने तयारी भएको जानकारी दिए ।

विभागले पहिलो पटक यसवर्षको चाडपर्वलाई ध्यानमा राख्दै उपत्यकामा सञ्चालित मासु पसलसँगै मार्टलाई दसैंका लागि सहुलियत रुपमा खाद्यान्न सामग्रीको बिक्री वितरण गर्न आग्रह गरेको छ ।

विभागले नेपाल उद्योेग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घलाई आफ्ना सदस्य व्यवसायीलाई चाडपर्वमा सहुलियत रुपमा सामग्रीको बिक्री वितरण गर्न अनुरोध गरेको जनाएको छ ।

विभागले चार्डपर्वमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै तीव्र रुपमा बजार अनुगमनसँगै सरोकारबाला निकायसँग छलफल गर्दै आएको छ । –रासस

प्रतिक्रिया