आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइयाे : गच्छदार

नेपालखोज २०७८ असोज ६ गते १६:४१

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई प्रतिशोधपूर्ण ढंगले भ्रष्टाचारको आरोप लगाइएको बताए ।


बुधबार (आज)काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपसभापति गच्छदारले आफूमाथि ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाउनु असान्दर्भिक रहेको बताए ।

उनले प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने गुरुयोजना आफू मन्त्री हुनुभन्दा अगाडीदेखि नै प्रारम्भ भएको भन्दै तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशन अनुसार प्रक्रिया अगाडी बढाइ मन्त्रीपरिषद्ले सामुहिक निर्णय गरेको भएपनि आफूलाई पूर्वाग्रही रुपमा भ्रष्टाचारको मुद्धा चलाइएको बताए ।

उनले आफुमाथि लगाइएको भ्रष्टाचारको मुद्धा प्रतिशोधपूर्ण रहेको पनि बताए । उपसभापति गच्छदारले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने स्पष्ट पारे ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच सौहार्दपूर्ण वातावरणमा मिलेर अगाडी बढ्नको निम्ति आफूले भुमिका निर्वाह गरेको बताए ।

आफू नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनको निम्ति कांग्रेससँग एकिकरण गरेको भन्दै उहाँले कुनैपनि गुट वा समुहको पक्षमा वकालत नगर्ने बताए ।

उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष मुद्दा नचलाइ छानीछानी मुद्दा चलाइएको बताए । अरुलाई दलीय संरक्षण प्रदान गरी आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र भएको पनि उनले उल्लेख गरे ।

उनले तत्कालीन कम्युनिस्ट सरकारले संवैधानिक निकायहरुलाई दबाबमा पारी प्रतिपक्षलाई तर्साउने षड्यन्त्रस्वरुप मुद्दा चलाएको बताए ।

प्रतिक्रिया